काठमाडौँ । ट्रान्स महिला कलाकार पुष्पा थिङ लामाले ऐतिहासिक फिल्म ‘एलिफेन्ट्स इन द फग’मा गरेको उत्कृष्ट अभिनयका लागि उत्कृष्ट अभिनय पुरस्कार प्राप्त गरेकी छन् । ब्लु डायमन्ड सोसाइटीका अनुसार लामाले सिंगापुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको ३७औँ संस्करण तथा एसिया प्यासिफिक स्क्रिन अवार्डमा उक्त पुरस्कार प्राप्त गरेकी हुन् । उनी ‘पिराटी’का नामले समेत परिचित छिन् । लामाको उपलब्धिलाई ब्लु डायमन्ड सोसाइटीले व्यक्तिगत सफलता मात्र नभई समग्र राष्ट्रका लागि गौरवको विषय र एलजीबीटीक्यूआईएपी+ समुदायको उपलब्धिका रूपमा लिएको छ । 'यो केवल व्यक्तिगत उपलब्धि होइन; यो सम्पूर्ण राष्ट्रको विजय र एलजीबीटीक्यूआईएपी+ समुदायका लागि अत्यन्त गौरवको क्षण हो,' ब्लु डायमन्ड सोसाइटीले जनाएको छ । लामाको उपलब्धिले आफूहरू सबैलाई प्रेरणा दिएको भन्दै सोसाइटीले उनको आगामी यात्राका लागि शुभकामना व्यक्त गरेको छ । ब्लु डायमन्ड सोसाइटीले लामालाई निरन्तर चम्किरहन शुभकामना दिँदै उनको अन्तर्राष्ट्रिय उपलब्धिप्रति गर्व व्यक्त गरेको छ ।