तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष आयातको मूल्य करिब ८ प्रतिशत बढे पनि परिमाण भने करिब २७ प्रतिशत घटेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्च बढ्दा विद्युतीय सामग्रीको मूल्य १५ देखि २० प्रतिशतसम्म वृद्धि भएको छ । उनका अनुसार विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन् । विशेषगरी चीनबाट आउने सामग्रीको मूल्य स्रोत बजारमै बढेकाले नेपाली बजारमा त्यसको असर परेको उनले बताए । झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तारदेखि बाहिरी आवरणमा प्रयोग हुने प्लास्टिकसम्मका कच्चा पदार्थको मूल्य बढेको पौडेलले जानकारी दिए । उनले भने, ‘झिलिमिली बत्तीभित्र प्रयोग हुने तार, तामाको मूल्य र तारको आवरणका रूपमा प्रयोग हुने प्लास्टिकको मूल्य पनि बढेको छ । सामग्री उत्पादनमा प्रयोग हुने अधिकांश कच्चा पदार्थको मूल्य स्रोत बजारमै बढेको अवस्था छ ।’ कच्चा पदार्थको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत वृद्धि भएको उनको भनाइ छ । ‘डलर अघिल्लो वर्षभन्दा यस वर्ष बढेको र कच्चा पदार्थको लागत पनि वृद्धि भएकाले स्रोत बजारमै पर्ने प्रतियुनिट मूल्य बढेको हो,’ उनले भने । ढुवानी खर्चमा भएको वृद्धिले पनि आयातित सामग्री महँगिएको छ । पौडेलका अनुसार अघिल्लो वर्ष एउटा कन्टेनरको ढुवानी खर्च २ हजारदेखि २ हजार २०० अमेरिकी डलर थियो । अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर सहजै पाउन नसकिने अवस्था छ । ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा त्यसको भार अन्ततः उपभोक्ताले खरिद गर्ने सामग्रीको मूल्यमा पर्ने उनले बताए । चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामग्री ल्याउन नसक्दा पनि आयात लागत बढेको पौडेलले बताए । केरुङ नाकाबाट सामान ल्याउँदा तुलनात्मक रूपमा कम खर्च पर्ने भए पनि अहिले वीरगन्जलगायत अन्य भन्सार नाकाबाट घुमाएर ल्याउनुपर्ने अवस्था रहेको उनले जानकारी दिए । पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति पक्ष कमजोर बनेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै व्यवसायीसँग पर्याप्त मौज्दात छैन । मूल्य बढे पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न नसकेको उनले बताए । कच्चा पदार्थ, डलरको विनिमय दर र ढुवानी खर्च बढ्नुका साथै आपूर्तिमा समेत समस्या देखिएकाले यस वर्ष तिहारमा झिलिमिली बत्तीको मूल्य गत वर्षभन्दा महँगो पर्ने व्यवसायीको भनाइ छ ।