काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता एआईमा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ । जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)ले आइतबार एक कार्यक्रमबीच ‘¥याकदेखि स्क्रिनसम्म’ अवधारणासहित डिजिटल पुस्तकालय सार्वजनिक गरेको हो । पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक सामग्री समेटिएका छन् । एआईको सहायताले ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आवश्यक सूचना केही सेकेन्डमै खोज्न सक्ने जिफन्टले जनाएको छ । सोही अवसरमा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह–अस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो । कार्यक्रमका आईटीयूसी–एपीका महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले एसियासहित विश्वभरको मजदुर आन्दोलनलाई सहयोग पुग्ने बताए । जिफन्टका संरक्षक विष्णु रिमालले केन्द्रमा १० हजारभन्दा बढी पुस्तक तथा ऐतिहासिक सामग्री सङ्कलन रहेको जानकारी दिए । हाल परीक्षण चरणमा रहेको एआई पुस्तकालयको सेवा लिन प्रयोगकर्ताले अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा पुग्न सक्नेछन् । आगामी दिनमा सेवा एपमार्फत विस्तार गर्ने जिफन्टको योजना छ ।