काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा दुई अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा ४५ दशमलव ४४ प्रतिशत बढेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी भने तीन अर्ब ९० करोड रुपैयाँबाट बढेर चार अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा दुई अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकले छ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी चार खर्ब ७६ अर्ब एक करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात चार दशमलव शून्य छ प्रतिशत र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा रहेको छ ।