इलाम। मुख्य उत्पादनको समयमै अकबरे खुर्सानीका बोट पहेँलिने, हाँगा सुक्ने र मर्ने समस्या देखिएपछि इलामका किसान चिन्तित बनेका छन् । व्यावसायिक खेती विस्तार गरेका किसानले उत्पादन लिन नपाउँदै बोट नष्ट हुन थालेको बताएका छन् । माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले फल लाग्न थालेसँगै पात पहेँलिने र बोट मर्ने समस्या देखिएको बताए । सुरुमा राम्रोसँग हुर्किएका बोटमा उत्पादन सुरु भएपछि फल डढ्ने, कालो हुने र कुहिने समस्या देखिएको उनको भनाइ छ । दुई वर्षदेखि व्यावसायिक अकबरे खेती गर्दै आएका राईले अघिल्लो वर्ष खुर्सानी बिक्रीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष आम्दानी बढाउने उद्देश्यले उनले दुई रोपनीमा एक हजार ८०० बिरुवा रोपेका थिए । तर अधिकांश बोट मर्न थालेपछि लगानीसमेत नउठ्ने चिन्ता भएको उनले बताए । ‘यस वर्ष उत्पादन बढाउने उद्देश्यले अकबरे खुर्सानीको खेती विस्तार गरेको थिएँ,’ उनले भने, ‘तर बोट हुर्किएर फल लाग्न थालेपछि फलको आधा भाग डढ्ने, कालो हुने र कुहिने समस्या बढ्यो । यसले गर्दा सबै लगानी डुब्यो ।’ उत्पादन लिन नपाउँदै बोट नष्ट व्यावसायिक खेती गरिरहेका अन्य किसानले पनि यस्तै समस्या भोगेका छन् । किसान जीवन राईले खुर्सानीका फलमा डढुवा र कीरा लाग्ने तथा बोट पहेँलिने र कुहिने समस्या देखिएको बताए । ‘अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुने आशाले अन्नबाली हुने बारीमा दुई हजार बोट रोपेको थिएँ,’ उनले भने, ‘तर फल लाग्ने समयमा रोगको प्रकोप देखिएपछि उत्पादन लिनै नपाई अधिकांश बोट नष्ट भए । मिहिनेत र लगानी दुवै खेर गएपछि अहिले के गर्ने भन्ने चिन्ता थपिएको छ ।’ अर्की किसान कल्पना राईले खुर्सानी पाक्ने र टिप्ने समयमा फल डढ्ने, कीरा पर्ने तथा बोट सुक्ने समस्या देखिएको बताइन् । समस्या सुरु भएको एक महिनामै बारीको खुर्सानी पूर्ण रूपमा नष्ट भएको उनको भनाइ छ । ‘यो वर्ष एकाएक खुर्सानीमा रोगको प्रकोप बढेको छ,’ उनले भनिन्, ‘फल लागेको खुर्सानीको बगान सखाप भयो, मिहिनेत सबै खेर गयो । अब अन्य बाली लगाउन थालेको छु ।’ बगानबाटै बिक्री हुने अकबरे यहाँ उत्पादित अकबरे स्थानीय बजारसँगै झापाको दमकसम्म पुग्ने गरेको छ । स्थानीय व्यापारीले प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्ममा बगानबाटै खरिद गरेर लैजाने गरेका छन् । इलाममा पछिल्लो समय परम्परागत खाद्यान्न बालीको विकल्पमा अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको छ । नगदे बालीका रूपमा राम्रो आम्दानी हुने अपेक्षाले खेती विस्तार गरेका किसानलाई बोट मर्ने समस्याले चिन्तित बनाएको छ ।