काठमाडौं । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले युवालाई कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी व्यावहारिक सीप प्रदान गर्न निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको प्रतिष्ठानले ‘एआईको प्रभावकारी प्रयोग तथा प्रम्प्ट लेखन’ विषयमा तालिमका लागि आवेदन खुला गरेको हो । तालिम कात्तिक १८ र १९ गते बुधबार र बिहीबार बिहान १० देखि मध्याह्न १२ बजेसम्म तथा बेलुका ६ देखि ८ बजेसम्म गरी चारवटा छुट्टाछुट्टै सत्रमा सञ्चालन हुनेछ । प्रत्येक सत्रमा ५०० जनाका दरले कुल दुई हजार जनासम्म सहभागी हुन सक्नेछन् । प्रत्येक सहभागीलाई चारमध्ये कुनै एक सत्रमा सहभागी गराइनेछ । प्रम्प्ट लेखनदेखि भिडियो निर्माणसम्म तालिममा च्याटजीपीटी, क्लडलगायत एआई उपकरणको प्रभावकारी प्रयोग तथा स्पष्ट र उपयोगी प्रम्प्ट लेखन सिकाइनेछ । एआईको सहयोगमा इमेल, टिपोट, बैठकका निर्णय र प्रस्तुतीकरण तयार गर्ने व्यावहारिक सीप पनि समेटिनेछ । त्यस्तै, तस्बिर तथा छोटा भिडियो निर्माण, एआईको जिम्मेवार प्रयोग र प्राप्त जानकारीको सत्यता परीक्षण गर्ने तरिका सिकाइनेछ । अध्ययन, रोजगारी तथा व्यावसायिक गतिविधिमा एआई प्रयोग गर्न आवश्यक सीप प्रदान गर्नु तालिमको उद्देश्य हो । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले एआईसम्बन्धी ज्ञान र सीप केही व्यक्तिमा मात्र सीमित हुन नहुने बताएका छन् । ‘प्रविधिको विकाससँगै यसबाट सिर्जना हुने अवसरहरू देशभरका सबै युवाको पहुँचमा पुग्नुपर्छ,’ उनले भने, ‘त्यसैले यो निःशुल्क अनलाइन तालिम एआईसम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।’ आगामी दिनमा अनलाइन र भौतिक दुवै माध्यमबाट थप उन्नतस्तरका तालिम सञ्चालन गरी ठूलो सङ्ख्यामा युवालाई एआई प्रविधिमा दक्ष बनाउने लक्ष्य रहेको उनले बताए । अनलाइनबाट प्रत्यक्ष तालिम सञ्चालन गर्नु मन्त्रालयका लागि नयाँ अभ्यास रहेको जनाइएको छ । यसबाट प्राप्त अनुभव आगामी सीपमूलक तालिमको पहुँच र प्रभावकारिता बढाउन उपयोगी हुने अपेक्षा गरिएको छ । इच्छुक व्यक्तिले अनलाइन आवेदन फाराम भर्न सक्नेछन् । सहभागी हुने सत्रको जानकारी तालिम सुरु हुनुअघि उपलब्ध गराइनेछ । फारम भर्न यहाँ क्लिक गर्नुहोस्-