काठमाडौं । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले कार्यदल गठन गरी काम अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव तथा निजी अस्पतालका सञ्चालक र प्रतिनिधि सहभागी थिए । बैठकमा गुणस्तरीय र सुलभ उपचारका लागि नेपाल आउने विदेशी बिरामीलाई लक्षित गरी चिकित्सा सेवा पर्यटन व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण, अस्पतालको गुणस्तर तथा बिरामी सुरक्षाका मापदण्ड निर्धारण र विदेशी बिरामी तथा उनीहरूका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्थाबारे छलफल भएको हो । चिकित्सा सेवा पर्यटनको विकासबाट विदेशी मुद्रा आर्जनसँगै नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्र विशेषज्ञ सेवा सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ ।