अब व्यक्तिगत घटना दर्ता प्रणालीबाटै मतदाता नामावली अद्यावधिक

  • शनिबार १५ कात्िक २०८३ ०४:३६ PM
काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गर्न आयोग र विभागबीच कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ । मतदाता नामावली अद्यावधिक प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन दुई निकायबीच सहकार्य अघि बढाइएको हो । विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास गर्दै तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइने समझदारीपत्रमा उल्लेख छ । समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषय समाधान गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ । यस सहकार्यबाट मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।