कोप-३१ मा राजनीतिक दलका प्रतिनिधिलाई पनि सहभागी गराउँदै सरकार

  • शनिबार १५ कात्िक २०८३ १०:३१ AM
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको चाहनाअनुसार जलवायु परिवर्तनका मुद्दामा साझा धारणा निर्माण गर्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रभावकारी प्रतिनिधित्व गराउन यस्तो तयारी गरिएको हो। सम्मेलनमा सत्तारूढ दलसँगै प्रतिनिधिसभामा रहेका अन्य दलका प्रतिनिधिलाई पनि सहभागी गराउने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ती दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँग छलफल भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको उपस्थितिमा भएको बैठकमा नेपालको सहभागिता, सम्मेलनमा उठाउनुपर्ने प्राथमिकताका विषय र राष्ट्रिय हितका सवाललाई प्रभावकारी रूपमा प्रस्तुत गर्नेबारे छलफल भएको हो। कोप–३१ आगामी नोभेम्बर ९ देखि २० सम्म टर्किएमा हुँदै छ। नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले हिमाली क्षेत्रको संरक्षण, जलवायुजन्य विपद्, जलवायु न्याय, ऊर्जा तथा जलवायु वित्तका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्नेमा सरकारले जोड दिएको छ।