काठमाडौँ। सरुवा भएका कर्मचारीले साविककै कार्यालयमा काम गरिरहेको र नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइएको भन्दै मन्त्रालयले तीन पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा उक्त निर्णय गरेको हो । मन्त्रालयले ती पालिकाको खाता रोक्का गरेको जनाइएको छ । मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार पालिकामा कार्यरत कर्मचारीलाई अन्यत्र सरुवा गरिए पनि उनीहरू सम्बन्धित निकायमा हाजिर नभई साविककै पालिकामा कार्यरत थिए । पालिकाले नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर गराएका थिएनन् । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ । निर्णयबारे सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई जानकारी गराउँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।