काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धन अभियानमा सहभागी हुन इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरबाट आवेदन आह्वान गरेको छ । प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति र पर्यटकीय सम्भावनालाई सिर्जनात्मक सामग्रीमार्फत अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले बोर्डले आवेदन मागेको हो । अभियानअन्तर्गत हिमाली क्षेत्रदेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, स्थानीय संस्कृति र परम्परालाई भिडियो, तस्बिर तथा अन्य डिजिटल सामग्रीमार्फत उजागर गर्ने लक्ष्य छ । पर्यटकीय अनुभवलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सक्ने प्रतिभालाई अभियानमा जोड्दै डिजिटल माध्यम र सामाजिक सञ्जालबाट नेपालको पर्यटन प्रवर्द्धन गर्ने बोर्डको उद्देश्य छ । इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण तथा सामाजिक सञ्जाल प्रोफाइल वा पोर्टफोलियोको लिङ्कसहित ५ नोभेम्बर २०२६ भित्र आवेदन दिन सक्नेछन् ।