अर्घाखाँचीमै सवारी नवीकरण सेवा सुरु, बुटवल जानुपर्ने बाध्यता हट्यो

  • शुक्रबार​ १४ कात्िक २०८३ ०१:३१ PM
अर्घाखाँची । सवारीसाधनको राजस्व बुझाउन र सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गर्न बुटवल जानुपर्ने अर्घाखाँचीवासीको बाध्यता हटेको छ । जिल्लामै पहिलोपटक सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्मको नवीकरण अर्घाखाँचीबाटै गर्न सकिने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा सेवाको शुभारम्भ गरे । उनले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरण गरेका थिए । लामो समयदेखि जिल्लावासीले अपेक्षा गर्दै आएको सेवा प्रदेश सरकारले जिल्लामै उपलब्ध गराउन सफल भएको आचार्यले बताए । ‘आज अर्घाखाँची जिल्ला र यहाँ बसोबास गर्ने नागरिकका लागि खुसी र गौरवको क्षण हो,’ उनले भने, ‘यातायात क्षेत्रको सेवा थपिएको छ । यसलाई विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना छ ।’ यातायात क्षेत्रका अन्य सेवा पनि क्रमशः जिल्लामै विस्तार गर्ने योजना रहेको उनले बताए । आवश्यक प्रक्रिया पूरा गरेर सवारीसाधनको जाँचपाससम्बन्धी सेवा पनि अर्घाखाँचीबाटै उपलब्ध गराउने तयारी भइरहेको उनले जानकारी दिए । मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुनासोरहित बनाउन कर्मचारी तथा सम्बन्धित व्यवसायीलाई निर्देशन दिए । घरेलु तथा साना उद्योग कार्यालयको जिम्मेवारी थपिएको उल्लेख गर्दै उनले सेवाग्राहीले सास्ती र असुविधा भोग्न नपर्ने गरी काम गर्न आग्रह गरे । यातायात सेवाबारे विभिन्न गुनासा आउने गरेको उल्लेख गर्दै उनले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । व्यवसायी तथा कर्मचारीले उच्च मनोबलका साथ नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । जिल्लामै नवीकरण र राजस्व बुझाउने सेवा उपलब्ध भएपछि सेवाग्राहीको समय तथा खर्च बचत हुने भएको छ । प्रदेश सरकारले आगामी दिनमा यातायात क्षेत्रका थप सेवा जिल्लास्तरबाटै उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।