धादिङका आठ वटा पालिकालाई राष्ट्रिय राजमार्गसंग जोड्ने फुर्केखोलाको पक्की पुल बगाएको क्षेत्रमा अस्थायी ‘पन्टुन ब्रिज’ (तैरिने पुल) जडान गरिने भएको छ । भदौ १० गतेको भोटेकोसी बाढीले पक्की पुल बगाएपछि पृथ्वी राजमार्गसंग टुटेको सडक सम्पर्क जोड्न स्थानीय तहहरुको पहलमा अस्थायी ’पन्टुन ब्रिज’ जडान गर्न लागिएको हो । बाढीले फुर्केखोलाको पक्की पुलसहित त्रिशूली नदी वारपार गर्ने ४ वटा पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो । त्यसले गर्दा एम्बुलेन्सले समेत वैकल्पिक र लामो दूरीको जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन् । धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र समन्वयमा मलेखुमा पन्टुन ब्रिज ल्याएर जडान गर्ने प्रयास अन्तिम चरणमा पुगेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले जानकारी दिए । अध्यक्ष दनैका अनुसार राजापुर सिँचाइ व्यवस्थापन कार्यालय, बर्दियाअन्तर्गत रहेको पन्टुन ब्रिज फुर्केखोलामा ल्याएर अस्थायी रूपमा जडान गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो । यसैक्रममा आज सम्बन्धित कार्यालयसँगको समन्वयमा प्राविधिक टोलीसहित फुर्केखोलामा पुल जडानको सम्भावना र आवश्यक प्राविधिक पक्षबारे स्थलगत निरीक्षण भएको छ । सबै प्रक्रिया अनुकूल भएमा केही दिनभित्रै पन्टुन ब्रिज जडानको काम सम्पन्न गरी स्थायी पुल निर्माण नहुँदासम्मका लागि तिहार अघिनै यातायात सहज रूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको अध्यक्ष दनैले बताए । के हो पन्टुन ब्रिज