काठमाडौँ। बाल्यकालमै आमाबुबा गुमाएका डम्बरबहादुर विक पढ्नका लागि गाउँ छाडेर घोराही पुगे। तर, जात थाहा पाएपछि घरबेटीले उनलाई डेरा छाड्न भने। विद्यालयमा पनि विभेद भोगे। अभाव र विभेदका बीच उनले अध्ययनलाई निरन्तरता दिए। त्यसैको परिणामस्वरुप उनी नेपाल प्रहरीमा दलित समुदायबाट पहिलो अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बन्न सफल भएका छन्। विकको यो यात्रामा दाजु खड्गबहादुर सुनारको साथ महत्त्वपूर्ण रह्यो। आमाबुबा गुमाएपछि खड्गबहादुरले नै उनको पालनपोषण र शिक्षाको जिम्मेवारी सम्हाले। पढाइसँगै विभेदको सामना गाउँमा माध्यमिक विद्यालय नभएकाले विक पढ्न घोराही पुगेका थिए। त्यहाँ घरबेटीले उनको थर थाहा पाएपछि डेरा छाड्न भने। त्यसपछि उनी एक थारू परिवारको घरमा बस्न थाले। उक्त परिवारका छोरालाई ट्युसन पढाउँदै उनले आफ्नो अध्ययन अघि बढाए। विद्यालयमा पनि जातीय विभेद भोग्नुपरेको उनी सम्झन्छन्। सरस्वती पूजामा सबै विद्यार्थीको पालो सकिएपछि मात्र उनलाई पूजा गर्न दिइन्थ्यो। यी अनुभवले उनको शैक्षिक यात्रामा चुनौती थपे पनि अघि बढ्ने संकल्प कमजोर बनाएनन्। एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आएका उनले शंकरदेव क्याम्पसबाट आईकम, मीनभवनबाट बीकम र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन पूरा गरे। दाजुको सीमित आम्दानीका बीच उनले पढाइ अघि बढाएका थिए। राष्ट्रिय अनुसन्धानबाट प्रहरी सेवामा विकले २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट सरकारी सेवा सुरु गरेका थिए। पाँच वर्षपछि, २०५८ सालमा उनी नेपाल प्रहरीमा स्थानान्तरण भए। प्रहरी सेवामा अघि बढ्दै उनी प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदै एआईजीसम्म पुगे। नेपाल प्रहरीको इतिहासमा विक दलित समुदायबाट डीआईजी बन्ने दोस्रो र एआईजी बन्ने पहिलो अधिकारी हुन्। यसअघि २०२२ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका पदमकुमार नेपाली दलित समुदायबाट डीआईजी बनेका थिए। थप तलको लिंकबाट पढ्नुहोस्- साढे सात दशक लामो प्रहरी इतिहास तोड्दै दलित समुदायबाट एआईजी बनेका डम्बरबहादुर बिक