गण्डकी। कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी भर्याङ चढेर भागेपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । गत असोज ३१ गते राति करिब २ बजे पोखरा महानगरपालिका–१८, खपौदीका ३७ वर्षीय सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर भागेका थिए । प्रहरीले उनलाई कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जलारी योजनाबद्ध रूपमा भागेको बताए । ‘बिजुली मर्मतका लागि राखिएको भर्याङ चढेर भागेको पाइएको छ । एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्,’ उनले भने । जलारीले कारागारभित्र पसलसमेत सञ्चालन गर्दै आएको कार्कीले बताए । सुरक्षामा खटिएका प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा उनी भाग्न सफल भएको उनको भनाइ छ । ‘भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भर्याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ,’ कार्कीले भने, ‘उनले नाइके र अरू कैदीलाई पनि झुक्याएर भागेको देखिन्छ ।’ कारागारबाट यसरी कैदी भाग्ने घटना बिरलै हुने गरेको उल्लेख गर्दै कार्कीले यस घटनाले सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई झकझक्याएको बताए । कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान कैदी गणनाका क्रममा मात्र जलारी भागेको थाहा भएको बताए । घटनापछि कारागारको सुरक्षा व्यवस्थाबारे प्रश्न र चासो व्यक्त हुनु स्वाभाविक भएको उनको भनाइ छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । ‘ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ । पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ,’ उनले भने ।