काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकखण्डको काम निर्धारित समयमा सम्पन्न नभएपछि ठेक्का तोडिएको छ । २०७९ वैशाख १६ गते सम्झौता भएको सडक निर्माणको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो । पछि २०८३ वैशाख १६ गतेसम्म म्याद थप गरिए पनि काम पूरा नभएपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोडेको हो । ठेक्का तोड्दासम्म सडकको भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै थियो । निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि सडक कटान तथा संरचना निर्माणले अपेक्षित गति लिन नसकेपछि ठेक्का अन्त्य गर्ने निर्णय गरिएको हो । कुल १० किलोमिटर लामो सडक निर्माणका लागि ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको थियो । ठेक्का तोडिएसँगै कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ । यससँगै सडक डिभिजन कार्यालयमार्फत लामो समयदेखि सडक तथा पुल निर्माणको काम अघि नबढेका छवटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ सालदेखि काम अलपत्र परेका योजनाका ठेक्का तोडिएको जनाइएको छ । ठेक्का तोडिएका काममा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मङ्गलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् ।