कांग्रेसमा फराकिलो मतान्तरले जितेका पाँच नेता

  • मङगलबार ११ कात्िक २०८३ ०९:०५ PM
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय समितिका २३१ मध्ये वरिष्ठ उपसभापति, महिला उपसभापति र एक केन्द्रीय सदस्यबाहेक २२८ पदमा निर्वाचन भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार सभापति पदका उम्मेदवारहरूबीच सर्वाधित मतान्तर भएको छ।  सभापतिमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा ठूलो मतान्तरले जितेका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। थापाले ५ हजार ९०९ मतको अन्तरले जित हासिल गरेका हुन्। त्यस्तै, सहमहामन्त्रीमा निर्वाचित प्रकाश रसाइली स्नेहीले ४ हजार ८०४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत पाए। स्नेहीले ३ हजार ६८३ मतको अन्तरले जितेका हुन्। अर्का सहमहामन्त्री प्रतिमा गौतमले पनि फराकिलो मतान्तरले जित निकालेकी छन्। उनले ५ हजार ११६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नानुमाया बास्तोलाले १ हजार ५५४ मत पाइन्। गौतमले ३ हजार ५६२ मतको अन्तरले जित हासिल गरिन्। केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट निर्वाचित हरिप्रभा खड्गीले ५ हजार १२६ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिस्पर्धी कविता इटनीले १ हजार ६०६ मत पाइन्। खड्गीले ३ हजार ५०६ मतको अन्तरले जितेकी हुन्। खड्गी काठमाडौं महानगरकी पूर्वउपमेयर पनि हुन्। त्यस्तै, सुदूरपश्चिम प्रदेशबाट निर्वाचित इन्जिनियर भुवनराज भट्टले ३ हजार ५३० मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी योगेन्द्र रावलले ८९८ मत पाए। भट्टले २ हजार ६३२ मतको अन्तरले जित हासिल गरेका हुन्। दशैँअघि सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेपनि पदाधिकारी र केन्द्रीय सदस्यहरूको भने सपथ ग्रहण हुन बाँकी छ। निर्वाचन समितिका अनुसार बिहीबार केन्द्रीय समिति सदस्यहरूको सपथ ग्रहण गराउने तयारी गरेको छ।