जापानी सहयोगमा रामेछापको पशुपति आधारभूत विद्यालयमा दुई तले भवन निर्माण, उद्घाटन सम्पन्न

  • मङगलबार ११ कात्िक २०८३ ०७:०३ PM
मन्थली । रामेछाप जिल्ला मन्थली नगरपालिका-१२ गेलूमा श्री पशुपति आधारभुत विद्यालयको २ तले भवन निर्माण भई कम्पनीका अध्यक्ष कोजिमा ताकाशी र मन्थली नगरप्रमुख लव श्रेष्ठबाट उद्घाटन तथा खेलकुद-शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भयो । मन्थली नगरप्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा आज मंगलवार एक समारोहको बीच विद्यालय भवनको उद्घाटन सम्पन्न भएको हो । जापानी सहयोगमा निर्माण गरिएको दुई कोठे भवन तथा एउटा हलको उद्घाटन सम्पन्न भएको छ। विद्यालयका पूर्वविद्यार्थी तथा हाल जापानमा बसोबास गर्दै आउनुभएका नेपाल जापान पत्रकार महासंघका निवर्तमान अध्यक्ष शान्त पहरीको पहलमा उक्त भवन तथा हल निर्माणका लागि आर्थिक सहयोग जुटाइएको हो। जापानस्थित जापान निचिनोकेन कान्तो कम्पनीका प्रमुख कोजिमा इसामुको सहयोगमा ३ वर्षअघि कुल ३५ लाख जापानी येन अर्थात् नेपाली २९ लाख ७३ हजार ४३५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएपछि भवन तथा हल निर्माण गरिएको हो। उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा, मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ प्रमुख अतिथि, नगर प्रवक्ता तथा मन्थली नगरपालिका ८ वड़ा अध्यक्ष गोपाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक प्रल्हाद खत्री, शिक्षक–शिक्षिका, पत्रकार, अभिभावक, विद्यार्थी तथा स्थानीयवासी गरी करिब १५० जनाको उपस्थिति रहेको थियो। बाजागाजासहित उत्साहपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयमा दुई कोठे भवन तथा हल निर्माण भएपछि विद्यार्थीहरूको पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधारमा सुधार हुने अपेक्षा गरिएको छ। यस सहयोगले विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित बनाउन तथा विद्यार्थीहरूलाई अध्ययनका लागि सहज वातावरण उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। आफूले अध्ययन गरेको विद्यालयको विकास र शैक्षिक उन्नतिका लागि पूर्वविद्यार्थी पहरीले जापानबाट सहयोग जुटाउन पहल गर्नुका साथै जापानी सहयोगदाताले आर्थिक सहयोग प्रदान गर्नुले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा शिक्षा क्षेत्रप्रतिको साझा प्रतिबद्धतालाई थप बलियो बनाएको छ। त्यसै गरि झापाको अर्जुनधाराको लाईब्रेरी भवन र भक्तपुर नगरकोटमा निर्माण सम्पन्न भवनको समेत उद्घाटन हुने कार्यक्रम छ ।