क्योतो नेपाली कम्युनिटीको रक्तदान कार्यक्रममा ४५ जनाद्वारा रक्तदान

  • मङगलबार ११ कात्िक २०८३ ०३:५२ PM
क्योतो, जापान। जापानको क्योतोमा नेपाली समुदायको सक्रियतामा आयोजित एकदिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्योतो नेपाली कम्युनिटीको आयोजनामा सम्पन्न कार्यक्रममा ४५ जनाले रक्तदान गर्दै मानव सेवा र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्। रक्तदानमार्फत जीवन बचाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका थिए। आयोजकका अनुसार रक्तदान केवल सामाजिक सेवा मात्र नभई मानवीय संवेदना, आपसी सहयोग र जीवन रक्षासँग जोडिएको महत्त्वपूर्ण अभियान हो। कार्यक्रम संयोजक तथा क्योतो नेपाली कम्युनिटीका वरिष्ठ उपाध्यक्ष शंकर भुसालले रक्तदानमा सहभागी सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सहयोगी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले रक्तदाताहरूको अमूल्य योगदानले आवश्यक परेको समयमा कसैको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। विदेशी भूमिमा रहेर पनि नेपाली समुदायले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय समाजसँग सहकार्य र मानवीय सेवामा सक्रियता देखाउनु सकारात्मक पक्षका रूपमा लिइएको छ। ‘मुस्कानसहितको रक्तदान, जीवनदान’ तथा ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले जापानमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सेवाभावको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।