काठमाडौं। गाउँघरको आत्मीयता र मौलिक संस्कृति समेटिएको तिहार विशेष गीत ‘गाउँघरै घमाइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । २०८३ सालको तिहारलाई लक्षित गरी तयार पारिएको गीतले सांस्कृतिक परम्परा, चाडपर्वको उल्लास र पारिवारिक आत्मीयता प्रस्तुत गरेको छ । गीतकार तथा पूर्वन्यायाधीश भीमकुमार ओझाको शब्द र लगानीमा तयार भएको गीत उनको आधिकारिक युट्युब च्यानल ‘Bhim Kumar Ojha Official’मार्फत सार्वजनिक गरिएको हो । गीतमा सन्तोष बिसीको सङ्गीत तथा सन्तोष बिसी, अञ्जु गौतम, जुन प्रसाई र पार्वती भुजेलको स्वर छ । नारायण दङ्गालले सङ्गीत संयोजन गरेको गीत बागबजारस्थित शङ्करा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको रेकर्डिङमा सागर पुन तथा मिक्सिङ र मास्टरिङमा इन्जिनियर कुमार सानुको प्राविधिक योगदान रहेको छ । यम गुरुङको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा गीतकार ओझा, उनकी पत्नी देवी ओझा, आयुष्मा खत्री, सरिता ओझा, सुधीर श्रेष्ठ, रिना थापा मगर, अनिस क्षेत्री र ज्योति खड्काको अभिनय छ । गीतकार ओझाका अनुसार ‘गाउँघरै घमाइलो’ गाउँघरको सम्झना, नेपालीपन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका संस्कार तथा संस्कृतिप्रतिको प्रेम अभिव्यक्त गर्ने प्रयास हो । आधुनिकताको प्रभावसँगै ओझेल पर्दै गएका मौलिक संस्कार र सांस्कृतिक परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै तिनको संरक्षण र निरन्तरतामा योगदान पुर्याउनु गीतको प्रमुख उद्देश्य रहेको उनले बताए । गीतमा तिहारको झिलिमिली, आँगनमा बल्ने दीप, देउसीभैलो, दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र आफन्तजनको मायालाई शब्द, सङ्गीत र दृश्यका माध्यमबाट प्रस्तुत गरिएको छ । विदेशमा रहेका नेपालीलाई गाउँघर र परिवारको सम्झना गराउने तथा स्वदेशमा रहेकाहरूमा मौलिक संस्कृति र परम्पराप्रतिको गौरव बढाउने अपेक्षा गीतबाट गरिएको छ । आफ्नो सिर्जना दर्शक तथा श्रोतामाझ पुर्याउन पाउँदा खुसी लागेको ओझाले बताए ।