काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सिफारिस गरेको छ। कानूनबमोजिम संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबारको गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरूविरुद्ध विरोध वा उजुरी भए प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो । समितिले प्रकाशित गरेको सूचनाअनुसार उजुरीकर्ताले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा अन्य तोकिएका कार्यालयमा उजुरी दिन सक्नेछन् ।