फङ्फङदेन झरना मेलामा फुटबल प्रतियोगिता, विजेतालाई अलैँची पुरस्कार

  • सोमबार १० कात्िक २०८३ ०२:१४ PM
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित कार्यक्रमहरूको विजेतालाई अलैँची पुरस्कार उपलब्ध गराइने भएको छ ।  पर्यटन प्रवर्धन तथा अलैँची प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा अलैँची पुरस्कार राखिएको हो ।  आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले सदरमुकाम फुङ्लिङमा सोमबार पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको हो ।  आयोजक समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार आगामी मङ्सिर २ देखि ६ गतेसम्म मेला आयोजना गर्ने गरी तयारी गरिएको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा अवस्थित फुङ्फुङगे झरनाको प्रवर्धन र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु र ताप्लेजुङमा उत्पादन भएको अलैँची प्रवर्धन गर्ने मुख्य उद्देश्यले मेला आयोजना गर्न सुरु गरिएको समितिका अध्यक्ष साँवाले बताए ।  पर्यटनसँगै लघुउद्यम तथा परम्परागत उत्पादनको बजारीकरण गर्ने र पर्यटनमैत्री गतिविधि गर्दै सिङ्गो जिल्लाकै पर्यटन विकासका लागि जिल्लावासीलाई जागृत गराउने उद्देश्यसमेत राखिएको साँवाले बताए ।     मेलामा फुङ्फुङगे झरनाको सौन्दर्य प्रवर्धन, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शनी रहने छ । मेलाको मुख्य आकर्षणका रूपमा पुरुष फुटबल प्रतियोगिता रहेको छ । फुटबल प्रतियोगितामा जिल्लाभित्र र झापा, सुनसरी, पाँचथरलगायत जिल्लाका गरी आठ टोलीलाई सहभागी गराइने आयोजकले जानकारी दिएको छ । फुटबल विजेतालाई ट्रफी, पदक र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ र उपविजेतालाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँची पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष साँवाले जानकारी दिए । यता मेला सम्पन्न गर्नका लागि १९ लाख ५० हजार ११२ रुपियाँ खर्च हुने अनुमान गरिएको मेला सञ्चालन समितिका आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर साँवाले जानकारी दिए ।  उपसमिति संयोजक साँवाका अनुसार मिक्वाखोला गाउँपालिका, ४ नम्बर वडा साँवा, विभिन्न जलविद्युत कम्पनीको आर्थिक सहयोग रहने छ भने अन्य दाताहरूबाट सहयोग सङ्कलन गर्ने आयोजकले योजना बनाएको छ ।