कसले सुनिदिने किसानका पीडा ?

  • सोमबार १० कात्िक २०८३ ०२:२२ PM
सर्लाही। रोजगारीका लागि कतार र साउदी अरेबिया पुगेका हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी अहिले आफ्नै गाउँमा व्यावसायिक गोलभेँडा खेती गरिरहेका छन् । आठ वर्षदेखि यस पेसामा संलग्न उनले यस वर्ष सात बिघामा गोलभेँडा लगाएका छन् । अन्सारीका अनुसार गत वर्ष १० बिघामा गोलभेँडा खेती गर्दा ७५ लाख रुपैयाँभन्दा बढीको उत्पादन बिक्री भयो । त्यसबाट ५० लाख रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको उनले बताए । यही आम्दानीबाट घरखर्च चलाउनुका साथै घरको तला थप्न र जग्गा जोड्न सफल भएको उनको भनाइ छ । उनको अनुभवले कृषि ज्ञान, प्रविधि, लगानी र बजार व्यवस्थापनको उचित संयोजन भए स्वदेशमै सम्मानजनक आम्दानी गर्न सकिने सम्भावना देखाउँछ । बागमती नगरपालिका–११ का नीलकण्ठ देवकोटाले पनि २५ बिघामा व्यावसायिक उखु खेती गरेका छन् । आफ्नो जग्गाबाहेक उनले झन्डै २० बिघाभन्दा बढी खेत भाडामा लिएर खेती गरिरहेका छन् । प्रविधिको प्रयोगले खेतीपाती सहज भएको र आम्दानी पनि भइरहेको देवकोटाले बताए । तर समयमा रासायनिक मल र बीउबिजन नपाउँदा समस्या हुने गरेको उनको अनुभव छ । उत्पादन हुन्छ, उचित मूल्य पाइँदैन अन्सारी र देवकोटाको जस्तो अनुभव सबै किसानको छैन । बरहथवा नगरपालिका–५, हात्तीडण्डाका किसान मुकेश महतो अत्यधिक वर्षा र न्यून बजार मूल्यका कारण हरियो तरकारी खेतीको लागतसमेत उठाउन मुस्किल भएको गुनासो गर्छन् । हरियो तरकारी लामो समय भण्डारण गरेर राख्न नसकिने भएकाले मूल्य घटेका बेला लागत नउठ्ने मूल्यमा पनि बेच्नुपर्ने बाध्यता रहेको उनले बताए । बीउ, मल, विषादी, सिँचाइ, मजदुर र ढुवानीलगायत खर्चको तुलनामा उत्पादनको मूल्य नपाउँदा किसान मर्कामा पर्ने गरेका छन् । कहिले तरकारीको मूल्य आकासिँदा उपभोक्ता महँगीको मारमा पर्छन् भने कहिले मूल्य घट्दा किसानलाई खेतबाट तरकारी टिपेर बजारसम्म पुर्‍याउने खर्च जुटाउनसमेत कठिन हुन्छ । लालबन्दीको थोक तरकारी बजार बिहान झिसमिसेदेखि नै किसान र व्यापारीले भरिभराउ हुन्छ । यहाँबाट दैनिक करोडौँ रुपैयाँको तरकारी विभिन्न सहरमा पठाइन्छ । किसानले गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो र खोर्सानीलगायत तरकारी बिक्री गर्दै आएका छन् । लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, बरहथवा र चन्द्रनगरलगायत क्षेत्रका किसानका लागि तरकारी खेती आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ । उत्पादनमा भएको लगानी सुरक्षित गर्दै स्वचालित मूल्य प्रणाली लागू गरिए उचित मूल्य पाउन सकिने किसानहरूको भनाइ छ । हरिवन नगरपालिका–४ का किसान मुखचन्द्र महतोले खुला सीमाबाट भारतका फलफूल र तरकारी भित्रिँदा स्थानीय उत्पादन चपेटामा पर्ने गरेको बताए । उत्पादन लागतका आधारमा नभई बिचौलियाको तजबिजमा मूल्य निर्धारण हुनु दुर्भाग्यपूर्ण रहेको उनको गुनासो छ । बढ्दो लागत र अनिश्चित आम्दानी कृषि उत्पादनमा ठूलो जोखिम लिने किसानसँग बजारमा मूल्य निर्धारण गर्ने शक्ति भने हुँदैन । लामो समय र श्रम लगाएर उत्पादन गरे पनि लागतका आधारमा मूल्य नपाउने उनीहरूको गुनासो छ । सस्तोमा उखु बेचेर महँगोमा चिनी किन्नुपर्ने, समयमा मल नपाउँदा कालोबजारबाट बढी मूल्यमा खरिद गर्नुपर्ने र उत्पादन उधारोमा बेचेर वर्षौं भुक्तानी कुर्नुपर्ने समस्या यहाँका किसानले सुनाउँदै आएका छन् । कृषि सुधारका लागि उत्पादन वृद्धिसँगै किसानको आम्दानीमा स्थिरता आवश्यक देखिन्छ । त्यसका लागि चिस्यान भण्डारण, प्रशोधन, बजार सूचना, बीमा, सहकारी र मूल्य नीतिको विकास पनि उत्तिकै महत्त्वपूर्ण छ । किसान, खेतीयोग्य जमिन र उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रणाली सुरक्षित हुँदा खाद्य सुरक्षाको आधार बलियो बन्न सक्छ । प्रविधि र व्यावसायिकतासँग जोड्नुपर्ने आवश्यकता बढ्दो उत्पादन लागत, अनिश्चित बजार र न्यून मुनाफाले कृषि पेसालाई निरन्तरता दिन कठिन बनाएको छ । मल, बीउ, सिँचाइ तथा प्राविधिक साधनको उपलब्धता र मूल्यसम्बन्धी समस्यासँगै कृषि भूमिको खण्डीकरणले पनि किसानलाई चुनौती थपेको छ । युवा पुस्तालाई कृषिमा आकर्षित गर्न यसलाई आधुनिक व्यवसायका रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिन्छ । विदेशमा कृषि क्षेत्रमा काम गर्न तयार हुने युवालाई स्वदेशमै अवसर दिन प्रविधि, लगानी र बजारको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ । नेपालमा पनि कृषि तथा पशुपालनमा प्रविधिको प्रयोग बढ्न थालेको छ । यसलाई विस्तार गर्दै युवालाई स्वदेशमै कृषि व्यवसायमा संलग्न गराउने ठोस प्रयास आवश्यक छ । सामाजिक धारणा, लगानी, अनुसन्धान, प्रविधि र बजार व्यवस्थापनबीच पर्याप्त समन्वय हुन नसक्दा कृषि क्षेत्र उपेक्षामा परेको विज्ञहरूको धारणा छ । परम्परागत खेतीलाई व्यावसायिक बनाउँदै नयाँ पुस्तामा सीप र व्यवसाय हस्तान्तरण गर्नुपर्नेमा जानकारहरूले जोड दिएका छन् ।