महँगीविरुद्ध फ्रान्समा प्रदर्शन, एक हजार ३१४ पक्राउ

  • आइबार​ ९ कात्िक २०८३ ०८:२८ PM
पेरिस। फ्रान्सभर शुक्रबार र शनिबार भएका प्रदर्शनका क्रममा एक हजार ३१४ जनालाई पक्राउ गरिएको आन्तरिक मन्त्रालयले आइतबार जनाएको छ । झडपमा ५३ प्रहरी घाइते भएका छन् । जीवनयापनको उच्च लागतविरुद्ध प्रमुख सहरमा भएका प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिस पक्राउ परेका हुन् । फ्रान्समा लगातार दोस्रो सप्ताहन्त अशान्ति भएको हो । आगामी अप्रिल र मेमा राष्ट्रपति निर्वाचन हुन लागेका बेला प्रदर्शन र हिंसा भएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँको दुई कार्यकाल सकिएपछि हुने निर्वाचनले उनका उत्तराधिकारी चयन गर्नेछ । आन्तरिक मन्त्रालयका अनुसार शनिबारका प्रदर्शनका क्रममा भएका ७५ वटा आगजनी नियन्त्रणमा लिइएको थियो भने २४ वटा पसल लुटिएका थिए । मन्त्रालयले केही घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । अनुसन्धानको विस्तृत विवरण भने दिइएको छैन । झडप रोकिएपछि शनिबार राति सहरहरू ‘शान्त’ रहेको बताइए पनि प्रदर्शनकारीले थप कार्यक्रम घोषणा गरेर अघि बढ्ने बताएका छन् । आइतबार जारी मन्त्रालयको विज्ञप्तिमा घाइते प्रदर्शनकारीको सङ्ख्या उल्लेख छैन । शनिबार राति आन्तरिक मन्त्री लोराँ न्युनेजले टुलुज र क्लर्मोन्ट–फेरान्डमा एक–एक जना प्रदर्शनकारी गम्भीर घाइते भएको बताएका थिए । प्रदर्शनकारीको हात र आँखामा चोट आन्तरिक मन्त्रालयअन्तर्गतको टुलुज प्रिफेक्चर प्रशासनले एएफपीलाई दिएको जानकारीअनुसार २० वर्षीय युवकको हातमा गम्भीर चोट लागेको छ । प्रदर्शनकारीको उपचार गर्ने एक सडक चिकित्सकले नाम नखुलाउने सर्तमा एएफपीसँग ती युवकको दाहिने हातमा गोली लागेर केही औँला गुमेको बताएका छन् । क्लर्मोन्ट–फेरान्डको प्रिफेक्चर प्रशासनले त्यहाँ एक जनाको हातमा चोट लागेको तर औँला नगुमेको जनाएको छ । फ्रान्सेली क्षेत्रीय दैनिक ‘ला नोभेल रिपब्लिक’ले पोइतियर्समा एक जनाको बायाँ आँखामा चोट लागेको समाचार प्रकाशित गरेको छ । उक्त समाचारसँगै हातले अनुहार छोपिरहेका व्यक्तिको तस्बिर पनि प्रकाशित गरिएको छ ।