काठमाडौ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन । औपचारिकरूपमा भोलि(सोमबार)देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ। यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक उचाई र रुपान्तरणको गतिलो दस्तावेज पनि हो। तर यसपटकको प्रतियोगिता थप चर्चित बन्ने कारण छ विदेशी खेलाडीहरूको उल्लेख्य उपस्थिति । प्रतियोगिता नजिकिँदै गर्दा विभिन्न फ्रेन्चाइज टिमहरूले आफ्ना विदेशी कोटाका स्टार खेलाडीलाई पूर्णरूपमा पक्का गरी कीर्तिपुरको मैदानमा उतार्ने अन्तिम प्रक्रिया पूरा गरिसकेका छन्। विदेशी खेलाडीहरूको आगमनले बजारको ग्राफ उकालो लागेको छ। संघर्षबीच मौलाएका नेपाली प्रतिभा र विदेशी ‘स्टार’ को सङ्गमपछिको परिणामको प्रतीक्षा निश्चय महत्त्वपूर्ण हुनेछ । विदेशी अनुहारको आगमन र फेरिएको व्यावसायिक ग्राफ त्यसो त अघिल्ला दुई शृङ्खलामा पनि विदेशी खेलाडी नआएका होइनन्। पहिलो श्रृङखलामा भारतीय स्टार खेलाडी शीखर धवनको आगमनसँगै प्रारम्भ भएको विदेशी खेलाडी नेपालमा आएर खेल्ने कुरा यसपटक आइसीसीको नीतिपछि संस्थागत हुन पुगेको छ । आईसीसीले एनपीएललाई मान्यता दिएसँगै यसपटक विश्वका चर्चित ‘स्टार’ हरू मोइन अली, शाकिब अल हसन, रबी बोपारा, मार्क वाट, हुसैन तलात, आरिफुल इस्लाम, अकबर अली, सेफ अली जैब, स्कट कुगेलेइन, निरोशन डिकवेला, हरमित सिङ्ह, शाहबजादा फरहान, जिमि निसन, डेविड वार्नर, केएस भरत, सचान अर्चग, आन्द्¥इ रसल, एन्जेलो म्याथ्युज, चरित असलन्का, सुभम रन्जने, इफ्तिखार अहमद, रदर्फोर्ड, मेहन्दी हसन, फ्याबियन एलनजस्ता विश्व खेल जगतका स्थापित नामहरूले नेपाली माटोमा पाइला टेक्ने सुनिश्चित भएको छ । यसबाट क्रिकेट बजारमा जुन ऐतिहासिक तरङ्ग पैदा भएको छ, त्यसले आम खेलप्रेमीहरूलाई रोमाञ्चित र अचम्मित बनाएको छ। तर आइसीसीसँग राम्रो सम्बन्ध रहेको भनिएको क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्ने यो खेल महोत्सवमा आइसीसीका अध्यक्ष जय शाहको मुलुकबाट उल्लेख्य खेलाडी सहभागी नहुनु अर्थपूर्ण छ । खेल समीक्षक साहित्यकार रमेश रन्जन भन्छन,‘यसले प्रश्न त उठछ नै । आइसीसीले मान्यता दिए पनि बिआइसीसीले एनपीएललाई खुलेर मान्यता दिन सकेको छैन शायद । त्यसैले भारतका पर्याप्त खेलाडी सहभागी भएको देखिएन,’ उनी भन्छन,‘ भारतीय खेलाडीको उपस्थिति नेपाल र नेपालीका लागि महत्वपूर्ण छ ।’ अग्रज खेल पत्रकार तथा समीक्षक मुकुन्द दाहालका अनुसार नेपालमा भारतीय खेलाडीको अलगै ‘क्रेज’ छ । नेपालका थुप्रै खेलाडीले भारतीय खेलाडीलाई हेर्दै आफ्नो क्यारियर अगाडि बढाएका छन । विदेशी खेलाडी नेपालमा आएर खेल्ने कुरा महत्वपूर्ण त हो तर यो बाह्य चम्किलो प्रकाश, ठूलो धनराशी र स्टारडमको भिडभाडबीच नेपाली क्रिकेटको आफ्नै जरा र यहाँका उदीयमान युवाहरूको भविष्य कता जाँदैछ भन्ने गम्भीर प्रश्नले अहिले बौद्धिक तथा खेल वृत्तमा बहस सिर्जना गरेको छ। अग्रज खेल पत्रकार तथा समीक्षक दाहाल भन्छन,‘यसपटकको प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आधिकारिक मान्यता र प्रत्येक फ्रेन्चाइज टिमले आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नीतिले मैदानभित्र र बाहिरको तापक्रमलाई अर्कै उचाइमा पुर्याएको छ। यो सकारात्मक हो,’ उनी थप्छन,‘तर नेपाली प्रतिभाको भविष्य सुनिश्चित गर्ने रणनीतिको भने अभाव देखियो ।’ विदेशीलाई अवसर कि स्वदेशी प्रतिभाको अवमूल्यन