काठमाडौँ । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ । छवटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै सार्वजनिक गरेका श्वेतपत्रमा जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा र विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको छ । आधुनिक प्रविधि, खुला तथ्याङ्क प्रणाली र वैज्ञानिक अनुसन्धानमार्फत नागरिकको जीवन तथा सम्पत्तिको रक्षा गर्ने प्रतिबद्धता पनि श्वेतपत्रमा उल्लेख छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्ने, हिमनदी पग्लिने, हिमपहिरो जाने र हिमताल विस्फोटको जोखिम बढ्दै गएको सन्दर्भमा केन्द्रको पाँचवर्षीय रणनीतिक योजना र विभागको श्वेतपत्रमार्फत जोखिम न्यूनीकरणका कार्यक्रम अघि सारिएका हुन् । चार हिमतालको पानीको सतह घटाइने उच्च जोखिममा रहेका मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको पानीको सतह घटाउन ‘ग्लोफ सञ्जीवनी आयोजना’ अघि सारिएको छ । सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने आयोजनाको कुल बजेट करिब ४ करोड ९९ लाख अमेरिकी डलर छ । यसअघि दोलखाको रोल्वालिङ उपत्यकास्थित छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाइएको अनुभवका आधारमा यी हिमतालमा पनि जोखिम न्यूनीकरणका उपाय अपनाइनेछ । छ नदी बेसिनमा पूर्वसूचना प्रणाली जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले ‘प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजना’अन्तर्गत छवटा नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली जडान गरिरहेको छ । सन् २०२२ देखि २०२८ सम्म सञ्चालन हुने आयोजनाको लागत ७५ लाख ४० हजार अमेरिकी डलर छ । केन्द्रले जेठ १ देखि असोज मसान्तसम्म चौबिसै घण्टा बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्नेछ । चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना मोडल विकास गर्ने योजना छ । त्यस्तै, बागमती सुधार आयोजनाअन्तर्गत २ करोड ६१ लाख रुपैयाँको लागतमा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण गरिनेछ । मौसम पूर्वानुमानमा कृत्रिम बुद्धिमत्ता मौसम विज्ञान विभागको श्वेतपत्र मस्यौदाअनुसार पूर्वानुमानको शुद्धता र विश्वसनीयता बढाउन कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल) र उच्च क्षमताको कम्प्युटिङ प्रणाली (एचपीसी) प्रयोगलाई प्राथमिकता दिइनेछ । देशभरका ५०३ म्यानुअल मौसम केन्द्रलाई क्रमशः स्वचालित मौसम मापन केन्द्र (एडब्लुएस)मा स्तरोन्नति गर्ने योजना छ । सुर्खेत, पाल्पा र उदयपुरका मौसमी राडारको मर्मतसम्भारसँगै काठमाडौँ उपत्यकाका लागि एक्स–ब्यान्ड राडार जडानको प्रस्ताव गरिएको छ । माथिल्लो वायुमण्डलको अवस्था अध्ययन गर्न थप छ प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ । समुदायसम्म पूर्वसूचना पुर्याइने विभागले पूर्वानुमान तयार पार्नुका साथै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्याउने विषयलाई प्राथमिकता दिएको छ । बहुप्रकोप पूर्वसूचना प्रणालीमार्फत मौसम अवलोकन, जोखिमयुक्त क्षेत्रको पहिचान, प्रभावमा आधारित पूर्वानुमान, चेतावनी नक्सा र सूचना सम्प्रेषणलाई एकीकृत गरिनेछ । ११५५ टोल–फ्री सेवा, मोबाइल एप, सामाजिक सञ्जाल तथा श्रव्यदृश्य जानकारीमार्फत तल्लो र तटीय क्षेत्रका समुदायसम्म पूर्वसूचना पुर्याउने योजना छ । यसका लागि सम्बन्धित सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरिनेछ । योजनाहरूबाट विपद् व्यवस्थापन र मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि कार्यान्वयनमा बजेटको निरन्तरता, दक्ष प्राविधिक जनशक्ति, उपकरणको नियमित मर्मतसम्भार र अन्तरनिकाय समन्वय मुख्य चुनौती रहेको श्वेतपत्रमा उल्लेख छ ।