बाँसका सामाग्री तयारी खर्चिलो, संकटमा डोम समुदायको परम्परागत पेशा

  • शनिबार ८ कात्िक २०८३ ०१:३८ PM
सप्तरी। तराई–मधेसमा विवाह तथा चाडपर्वमा प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएको मरिक (डोम) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । बाँसका सामग्री बनाउन परिश्रम धेरै लाग्ने तर आम्दानी न्यून हुने भएकाले यस पेसामा निर्भर परिवारलाई खर्च टार्न समस्या भएको छ । बढ्दो महँगी र सीमित आम्दानीका कारण पेसालाई निरन्तरता दिन कठिन भएको उनीहरू बताउँछन् । विवाह र चाडपर्वको याममा जसोतसो छाक टार्न सहज भए पनि अन्य समयमा समस्या हुने तिरहुत गाउँपालिका–३ का ७० वर्षीय भजु मरिकले बताए । ‘विवाह र चाडपर्वका बेला ठिकै आम्दानी भए पनि अन्य समयमा दुई छाक टार्नसमेत समस्या हुँदै आएको छ । बाँसका सामान बनाउन समय धेरै लाग्ने र दाम भनेजस्तो नपाइने भएकाले समस्या भएको छ,’ उनले भने । ढक्की, कोनियालगायत सामग्री बनाउन एउटा बाँसको दुई सयदेखि तीन सय रुपैयाँसम्म तिर्नुपर्ने उनले बताए । उनका अनुसार एउटा बाँसबाट दिनभरिमा तीनवटा सामग्री बनाउँदा एक हजार रुपैयाँसम्म प्राप्त हुन्छ । खर्च कटाएर दैनिक सात सय रुपैयाँभन्दा बढी आम्दानी हुने भए पनि सामग्री बिक्री गर्नै मुस्किल हुने उनको भनाइ छ । छोराहरूले यही पेसाबाट जसोतसो जीविकोपार्जन गरिरहे पनि मेहनत बढी र आम्दानी कम हुने भएकाले नातिहरूले अर्को पेसा अपनाउन थालेको भजुले बताए । ‘हाम्रो समुदायले बनाएको नियमअनुसार आफ्नो क्षेत्रबाहिर गएर आफूले बनाएका सामग्री बिक्री गर्न नपाइने भएकाले पनि यस पेसामा टिक्न समस्या भएको छ,’ उनले भने । राजविराज नगरपालिका–१३ की रिना मरिकले पनि समुदायभित्र बिक्रीका लागि क्षेत्र तोक्ने चलनले पेसालाई निरन्तरता दिन कठिन भएको बताइन् । ‘श्रीमान् अपाङ्गता भएका व्यक्ति हुन् । काम गर्न सक्दैनन् । मैले कमाएको आम्दानीले परिवार पाल्नुपर्ने बाध्यता छ । बाँसका सामग्री याममा मात्र बिक्री हुने भएकाले अन्य बेला छाक टार्नै समस्या हुन्छ । त्यसैले अरू समयमा अन्य काम गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् । दलित अभियन्ता युक्ति मरिकले विवाह र चाडपर्वको यामबाहेक पर्याप्त आम्दानी नहुँदा समुदायका परिवारलाई जीविकोपार्जनमा समस्या भएको बताए । यसले परम्परागत पेसाबाट विस्थापित हुने अवस्था आएको उनको भनाइ छ । ‘हाम्रो समुदायको पेसालाई दिगो र व्यावसायिक बनाउन तथा आर्थिक सशक्तीकरणका लागि सरकारले ध्यान दिन आवश्यक छ,’ उनले भने ।