दशैँका दिन २५ वर्षीया दलित महिलामाथि सामूहिक बला*त्कार, घटना सामसुम पार्न प्रयास

  • शनिबार ८ कात्िक २०८३ ०९:११ AM
सप्तरी । दशैँको टीकाकै दिन सप्तरीमा २५ वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार भएको छ।  प्रहरीका अनुसार सुरूङ्गा नगरपालिका-९ टिकुलियामा ती महिलामाथि तीन युवाहरूले सामूहिक बलात्कार गरेका हुन्। घटनामा आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यता ‎पीडित परिवारले भने घटनापछि गाउँका केही अगुवाले घटना सामसुम पार्न विभिन्न प्रलोभन दिएको आरोपसमेत लगाएका छन्।  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई नियन्त्रणमा लिन खोजी भइरहेको जानकारी दिए।  उनका अनुसार ‎सिरहा घर भएकी ती महिला दशैँ मनाउन बहिनीको घरमा आएकी थिइन् । गत बुधबार दुर्गा पूजाको मूर्ति जलप्रवाहका लागि गाउँबाट पश्चिमतर्फको बलान नदी पुगेकी उनी जलप्रवाहपछि ट्याक्टरमा फर्किंदै थिइन्। बाटोमा ट्याक्टरको डिजेल सकिएर रोकियो।  त्यसपछि उनी एक्लै पैदल घरतर्फ जाने क्रममा उनीमाथि तीन जना युवकले नियन्त्रणमा लिएर मुख थुनी नजिकैको आँपको बगैँचामा लगेर पालैपालो जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू महिलालाई बेहोस अवस्थामा छाडेर फरार भएको पीडितले बताएकी छन्। ‎ अबेरसम्म घर नपुगेपछि खोजीमा निस्किएका आफन्त र स्थानीयवासीले उनलाई घटनास्थलबाट उद्धार गरेका थिए।  सो घटनामा गाउँकै तीन जना युवाहरूको संलग्नता रहेकोमा एक जना १९ वर्षीय युवा र दुई जना २१ मुनिको रहेको बताइएको छ । प्रहरीले नाम भने सार्वजनिक गरेको छैन। ‎ घटनाबारे पीडितले ५ गते बिहीबार साँझ करिब ५ बजे इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दिएकी थिइन्। ‎