दुई शतकसहित विश्वकपमा कीर्तिमान बनाएका फरहान कर्णाली याक्सबाट खेल्ने

  • शुक्रबार​ ७ कात्िक २०८३ ०१:५२ PM
काठमाडौँ। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिक रूपमा जानकारी दिएको हो। ‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो छाप छाडेका थिए। उनले प्रतियोगितामा छ खेल खेल्दै दुई शतकसहित ३८३ रन बनाएका थिए। उनले प्रतियोगितामा बनाएको ३८३ रन एकै संस्करणको पुरुष टी–२० विश्वकपमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो। ३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी हुन्। उनले पाकिस्तानका लागि ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन बनाइसकेका छन्। उनले व्यावसायिक क्रिकेटमा हालसम्म लङ्का प्रिमियर लिग (एलपिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेलेका छन्। फरहानका लागि एनपिएल चौथो विदेशी लिग हुनेछ। कर्णाली याक्सले यसअघि पाकिस्तानका अलराउन्डर हुसेन तलत, बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ देखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।