नेकपाका नेता शंकर दुलाललाई मातृशोक, दलित मोर्चाद्वारा शोक व्यक्त

  • शुक्रबार​ ७ कात्िक २०८३ ११:१३ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल दलित मोर्चाका सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख शंकर दुलाललाई मातृशोक परेको छ। उनकी आमा मनमाया दुलालको कात्तिक ४ गते बिहान ७९ वर्षको उमेरमा निधन भएको हो। स्वास्थ्य समस्याका कारण उपचाररत मनमायाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। पछिल्लो समय उनी फोक्सोमा पानी जम्ने, रक्तचाप कम हुने र निमोनियाको समस्याबाट पीडित थिइन्। यसअघि उनको सशस्त्र प्रहरी अस्पताल बलम्बु र ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गरिएको थियो। विसं २००४ कात्तिक २ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–थानकोटमा जन्मिएकी मनमायाको काठमाडौंको नैकापका बुद्धराम दुलालसँग विवाह भएको थियो। मोर्चाले उनलाई जागरुक, परिश्रमी र सहयोगी स्वभावकी व्यक्तिका रूपमा स्मरण गर्दै सामाजिक परिवर्तन र कम्युनिस्ट आन्दोलनमा उनको परिवारले पुर्‍याएको योगदानको चर्चा गरेको छ। मनमायाले पछिल्ला वर्षमा पति र दुई सन्तान गुमाएकी थिइन्। उनका पति बुद्धरामको २०८१ भदौ २१ गते, कान्छा छोरा सुजितको २०८२ असार ७ गते र जेठी छोरी निरु अछामीको २०८२ चैत २१ गते निधन भएको मोर्चाले जनाएको छ।  उनका हाल चार छोरा शंकर, सीताराम, टीकाराम र गंगाराम तथा तीन छोरी दिल, जमुना र यमुना छन्। नेपाल दलित मोर्चाका संयोजक दलजित श्रीपालीले कात्तिक ४ गते जारी गरेको शोक वक्तव्यमा मनमायाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। मोर्चाले परिवारजनलाई धैर्यधारण गर्ने र शोकलाई शक्तिमा बदल्ने साहस प्राप्त होस् भन्ने कामना गरेको छ।