फेसबुक र टिकटकका स्टार नेत्र भुसाल, कति कमाइरहेका छन् ?

  • बिहीबार ६ कात्िक २०८३ ०३:५१ PM
अर्घाखाँची। सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ- ‘मोबाइलमा झुन्डिने युवा बिग्रिन्छन्।’  फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि सुनिन्छ। तर यही सामाजिक सञ्जाल सीप, पहिचान, रोजगारी र आम्दानीको आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन्, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका युवा नेत्रप्रसाद भुसाल। युट्युब, फेसबुक र टिकटकलाई कर्मथलो बनाएका भुसाल सामाजिक सञ्जालबाट राम्रो आम्दानीसँगै देश–विदेशमा आफ्नो पहिचान बनाउन सफल भएका छन्। सामाजिक सञ्जालबाट अहिलेसम्म करिब सात करोड रुपैयाँ आम्दानी गरेको उनको दाबी छ। टिकटकमा उनी ‘टिकटक स्टार नेत्र भुसाल’का रूपमा परिचित छन्। उनका अनुसार युट्युबमा उनका लाखौँ सब्सक्राइबर, फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी र टिकटकमा करिब २० लाख फलोअर छन्। सामाजिक सञ्जालमा बनाएको यही दर्शक सञ्जाल उनको आम्दानीको आधार बनेको छ। किशोरावस्थामै बाबुको निधन भएपछि परिवारमा आर्थिक सङ्कट थपियो। घरको जिम्मेवारी र भविष्यको चिन्ताले नेत्रलाई पनि छोयो। पढाइ कसरी अघि बढाउने, भाइबहिनीको शिक्षालाई कसरी निरन्तरता दिने र परिवारको आर्थिक अवस्था कसरी सुधार्ने भन्ने प्रश्न उनका अगाडि उभिए। तर समस्याले उनलाई रोक्न सकेन। एसइई दिएपछि पाएको करिब तीन महिनाको समय सदुपयोग गर्दै उनले युट्युब च्यानल सुरु गरे। अरूले मनोरञ्जनका लागि प्रयोग गरिरहेको इन्टरनेट र सामाजिक सञ्जाललाई उनले सम्भावनाको क्षेत्रका रूपमा हेर्न थाले। सामाजिक सञ्जालबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने बुझेपछि उनी यसतर्फ अझ गम्भीर भएर लागे। नेत्रको सामाजिक सञ्जाल यात्रा युट्युबमा टेकसम्बन्धी सामग्री र ब्लगिङबाट सुरु भएको हो। युट्युबका विभिन्न सामग्री निर्माताबाट प्रभावित भएर च्यानल सुरु गरेको उनी बताउँछन्। सुरुआती दिनमा दर्शक कम थिए। मेहनतअनुसारको परिणाम पनि तत्काल देखिएन। तैपनि उनले निरन्तरता दिन छाडेनन्। युट्युब च्यानल ‘मनिटाइज’ भएपछि पहिलोपटक आम्दानी हात पर्दा आफू निकै खुसी भएको उनी सम्झन्छन्। त्यसपछि उनले सामाजिक सञ्जाललाई रुचिको विषयसँगै व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा बुझ्न थाले। फेसबुकमा सक्रियता बढाउँदै टिकटकमा प्रवेश गरे। छोटा भिडियो, लाइभ स्ट्रिमिङ र दर्शकसँगको प्रत्यक्ष संवादले उनको लोकप्रियता बिस्तारै बढाउँदै लग्यो। सन् २०१९ देखि उनी टिकटकमा नियमित लाइभ बस्न थाले। सुरुमा प्रयोगका रूपमा थालेको लाइभ स्ट्रिमिङ पछि उनको आम्दानीको महत्त्वपूर्ण माध्यम बन्यो। टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट नै आफ्नो मुख्य आम्दानीको स्रोत रहेको नेत्र बताउँछन्। उनका अनुसार अहिले मासिक करिब पाँचदेखि छ लाख रुपैयाँ आम्दानी हुने गरेको छ। ‘लाइभमा बसेर दर्शकसँग जोडिन्छु। दर्शकले दिने गिफ्ट नै मेरो मुख्य आम्दानीको स्रोत हो,’ उनी भन्छन्, ‘सामाजिक सञ्जाललाई सही ढङ्गले प्रयोग गर्न सक्ने हो भने यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।’ उनी दैनिक बिहान ६ देखि ८ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी करिब चार घण्टा टिकटक लाइभमा बस्छन्। नियमित लाइभ सञ्चालन गर्दै उनी टिकटकको लोकप्रिय ‘लाइभ होस्ट’का रूपमा परिचित भएका छन्। कुनै समय परिवारको आर्थिक अवस्था कसरी सुधार्ने भन्ने चिन्तामा रहेका नेत्रले अहिले आफ्नै कमाइबाट सन्धिखर्कमा घर निर्माण गरेका छन्। आवतजावतका लागि गाडीसमेत किनेका छन्। केही महिनाअघि काठमाडौंको बुढानीलकण्ठमा करिब चार करोड रुपैयाँमा घर खरिद गरेको पनि उनी बताउँछन्। तर उनी आफ्नो सफलतालाई घर, गाडी र पैसामा मात्र सीमित गर्न चाहँदैनन्। उनका लागि सामाजिक सञ्जालले आम्दानीसँगै नाम, सम्मान र पहिचान पनि दिएको छ। ‘सोसल मिडियाले पैसा मात्र दिएको छैन, इज्जत, सम्मान र नाम पनि दिएको छ,’ उनी भन्छन्, ‘देश तथा विदेशमा करोडौँ दर्शकसँग जोडिन पाएको छु। त्यसैले यसलाई अझै निरन्तरता दिनेछु।’ नेत्रले सामाजिक सञ्जालबाट प्राप्त आम्दानीको केही हिस्सा सामाजिक तथा मानवीय काममा पनि खर्च गर्दै आएका छन्। दीनदुःखी, बिरामी तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्दै आएका उनले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारका लागि करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको बताए। सामाजिक सञ्जालबाट कमाएको पैसाको केही हिस्सा सामाजिक सेवामा लगाउन पाउँदा थप सन्तुष्टि मिल्ने उनको भनाइ छ। नेत्रको परिचय टिकटक लाइभ होस्टमा मात्र सीमित छैन। उनले विभिन्न गीतका म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्। युट्युबबाट सुरु भएको उनको डिजिटल यात्रा अहिले विभिन्न सामाजिक सञ्जालमा फैलिएको छ। युट्युबमा ब्लगिङ र टेकसम्बन्धी सामग्री, फेसबुकमा विभिन्न सामग्री तथा टिकटकमा छोटा भिडियो र लाइभमार्फत उनी फरक–फरक दर्शकसँग जोडिएका छन्। नेत्रको अनुभवमा सामाजिक सञ्जाललाई समय बिताउने साधनका रूपमा मात्र नभई सिक्ने, सिर्जना गर्ने, दर्शकसँग जोडिने र आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ। उनी आफ्नो डिजिटल यात्रालाई निरन्तरता दिँदै सामाजिक काममा पनि सहयोग गर्ने बताउँछन्।