भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुको श्यामशिलामा सञ्चालित गोठेसिं होमस्टे पर्यटक र स्थानीयको रोजाइमा परेको छ । अर्गानिक खानपान र आतिथ्यले यहाँ आउने पर्यटकलाई आकर्षित गर्न थालेको छ । नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडास्थित ‘मुन्दुम ट्रेल’लाई सूचीकृत गरेसँगै यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ । परिवार र साथीभाइसँग टेम्केडाँडा तथा चखेवाभञ्ज्याङ घुम्न आउने पर्यटकका लागि गोठेसिं होमस्टे प्रमुख रोजाइमा पर्ने गरेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए । मुन्दुम पदमार्ग पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा गाउँपालिका पनि लागिरहेको उनले जानकारी दिए । होमस्टेमा आउने र बस्ने पाहुनाका लागि विभिन्न पुस्तक राखेर अध्ययनको व्यवस्थासमेत गरिएको छ । भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर पश्चिममा रहेको यो होमस्टे स्थानीय प्रकाश राईले करिब २६ लाख रुपैयाँको निजी लगानीमा सञ्चालन गरेका हुन् । आफ्नै ५७ रोपनी जग्गामा सञ्चालित होमस्टेमा टेम्के र चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको सञ्चालक राईले बताए । होमस्टे सञ्चालनले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आम्दानीको स्रोत पनि बढाएको उनको भनाइ छ । गाउँपालिका क्षेत्रमा पहिलोपटक खुलेको यो होमस्टे आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने माध्यम बनेपछि गाउँपालिका पनि यसको संरक्षण र विकासमा जुटेको छ । होमस्टेको प्रवर्द्धन र प्रोत्साहनका लागि गाउँपालिकाले त्यहाँसम्म बिजुली र सडक पुर्याउन सहयोग गरेको थियो ।