सरकारी सेवासँगै साहसिक यात्रामा पृथ्वीमान लिम्बू : आफ्नै खर्चमा मेरापिक आरोहण

  • बिहीबार ६ कात्िक २०८३ ११:२८ AM
तेह्रथुम। सरकारी सेवासँगै साहसिक यात्रालाई अघि बढाउँदै तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा जन्मिएका पृथ्वीमान लिम्बुले मेरापिक हिमालको सफल आरोहण गरेका छन् ।  प्रदेश लेखा इकाइ कार्यालय ओखलढुङ्गाका कार्यालय प्रमुखसमेत रहेका आठौँ तहका वरिष्ठ लेखा अधिकृत लिम्बुले आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्चेर आरोहण गरेका हुन् । कात्तिक १ गते बिहान ७ बजेर १० मिनेटमा पर्वतारोहण गाइड सिङ्गी लामासँगै उनी ६ हजार ४ सय ७० मिटर अग्लो मेरापिकको चुचुरोमा पुगेका थिए । कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र चुनौतीपूर्ण पदमार्ग पार गर्दै शिखरमा पुग्दा व्यक्तिगत सपना पूरा भएको उनले बताए । लिम्बुका लागि आरोहण लक्ष्य प्राप्तिसँगै हिमाली क्षेत्रको प्राकृतिक अवस्था र स्थानीय जीवन बुझ्ने अवसर पनि बन्यो । यात्राका क्रममा त्यहाँको मौसम, भूगोल तथा सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशबारे अध्ययन गर्ने अवसर पाएको उनको भनाइ छ । पदयात्राबाट आरोहणतर्फ मेरापिक आरोहणअघि लिम्बुले विभिन्न हिमाली क्षेत्रमा पदयात्रा गरिसकेका थिए । उनी २०८२ साल फागुनमा केबिन शाक्यसँग कास्कीमा रहेको करिब ४ हजार ५ सय मिटर उचाइको मार्दी हिमाल आधार शिविरसम्म पुगेका थिए । त्यसपछि गत जेठमा तत्कालीन मालपोत कार्यालय तथा भूमि व्यवस्था कार्यालय तेह्रथुमका प्रमुख प्रदीप राईसँग सोलुखुम्बुको एभरेस्ट क्षेत्रमा पदयात्रा गरेका थिए । उक्त यात्राका क्रममा उनी ५ हजार ३ सय ६४ मिटर उचाइको एभरेस्ट आधार शिविर, ५ हजार ६ सय ४४ मिटरको कालापत्थर, ५ हजार ४ सय २० मिटरको चोला पास र करिब ५ हजार ३ सय मिटर उचाइमा रहेको गोक्यो पोखरीसम्म पुगेका थिए । विभिन्न हिमाली गन्तव्य र आधार शिविरसम्म पुगेपछि हिमाल आरोहण गर्ने उत्सुकता बढेको लिम्बुले बताए । त्यही रुचिलाई निरन्तरता दिँदै उनले मेरापिक आरोहणको योजना बनाएका थिए । यात्राबाट सिकाइ र अनुभव हिमाली यात्राले प्राकृतिक सुन्दरता नियाल्न मात्र नभई स्थानीय समुदायको जीवनशैली र सामाजिक–आर्थिक अवस्था बुझ्न पनि सहयोग गरेको लिम्बुले बताए । यस्ता अनुभवले सोचाइको दायरा फराकिलो बनाउनुका साथै कठिन परिस्थितिको सामना गर्न, धैर्य कायम राख्न र नयाँ कुरा सिक्न सहयोग पुग्ने उनको बुझाइ छ । हिमाल आरोहणलाई साहसिक गतिविधिका रूपमा मात्र नभई ज्ञान, सीप र अनुभव अभिवृद्धिको माध्यमका रूपमा पनि लिनुपर्ने उनी बताउँछन् । सरकारी सेवामा आबद्ध व्यक्तिले नियमित जिम्मेवारीसँगै व्यक्तिगत रुचि र क्षमताको विकास गर्न सक्ने उनको भनाइ छ । कर्मचारीको मुख्य जिम्मेवारी सेवा प्रवाह र संस्थागत काम भए पनि व्यक्तिगत क्षमता विकासबाट प्राप्त अनुभव व्यावसायिक जीवनमा समेत उपयोगी हुन सक्ने उनले बताए । हिमाल आरोहणमा रुचि राख्ने कर्मचारीलाई प्रदेश तथा सङ्घीय सरकारले अवसर, प्रोत्साहन र सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । सुरक्षित पदमार्ग र पूर्वाधारको आवश्यकता हिमाली यात्राका क्रममा लिम्बुले पदमार्ग र पूर्वाधारसम्बन्धी चुनौती पनि अनुभव गरे । कतिपय स्थानमा जीर्ण साँघु, असहज बाटो र आधारभूत पूर्वाधारको अभावले पर्यटक तथा आरोहीको यात्रा कठिन हुने गरेको उनले बताए । हिमाली क्षेत्रमा सुरक्षित पदमार्ग, भरपर्दा साँघु, विद्युत्, खानेपानी, सञ्चार, इन्टरनेट र बसोबासका लागि होटलको उचित व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । आवश्यक पूर्वाधार विकास गर्न सके साहसिक यात्रा सुरक्षित र सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने लिम्बुले बताए । यसबाट पर्यटकको आवागमन बढ्ने, स्थानीय समुदायमा रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि विस्तार हुने उनको धारणा छ ।