काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोली सहभागी हुनेछन् । शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालसामु लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर छ । यसैबीच, प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकामा नहुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ खेलतालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।