दिवङ्गत पत्रकार उपाध्यायको परिवारलाई १२ लाख रुपैयाँ सहयोग हस्तान्तरण

  • मङगलबार ४ कात्िक २०८३ ०४:२६ PM
काठमाडौँ । दिवङ्गत पत्रकार बसन्तप्रकाश उपाध्यायको परिवारको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत सङ्कलित रकममध्ये रु १२ लाख पाँच हजार ८७५ उनकी पत्नी इन्दिरा कार्की उपाध्यायलाई हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले कात्तिक २ गते सोमबार इन्दिरालाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी र तनहुँ अन्तर्राष्ट्रिय समाजका राजन त्रिपाठीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । मिर्गौला रोगबाट पीडित इन्दिराको उपचार र उपाध्यायका बुबाको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले नेजाको पहलमा सङ्कलित रु १६ लाख सात हजार ८३२ रुपैयाँ नौ पैसा महासंघमा प्राप्त भएको थियो । महासंघका अनुसार बाँकी सहयोगमध्ये रु चार लाख एक हजार ९५७ दसैँलगत्तै उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको हेरचाहका लागि उनकै खातामा जम्मा गरिनेछ । सहयोग जुटाउने नेजा परिवार, अमेरिकामा रहेका तनहुँका शुभचिन्तक, तनहुँ अन्तर्राष्ट्रिय समाज र तनहुँ समाज पोखराप्रति महासंघले आभार व्यक्त गरेको छ ।