बाढी र विपद्‌को बितण्डाले रौनक हराएको दसैँ

  • मङगलबार ४ कात्िक २०८३ ०४:३७ PM
काठमाडौँ। यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान । कतै मिलनको खुसी छ, कतै विछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्, कतै आफ्नै थातथलो छाडेर परदेशिने यात्रामा छन् । कतिका घरआँगन दसैँको स्वागतमा सिँगारिएका छन्, कतिका घरआँगन गत भदौ १० गतेको भोटेकोशी बाढीले बगाएर उराठलाग्दो बगर बनेका छन् । दसैँको रौनकले गाउँबस्ती छपक्कै छोपेका बेला गोरखाको पालुङटार नगरपालिका–५ को परिवेश भने फरक छ । यहाँ विगतका वर्षमा झैँ दसैँको चहलपहल छैन, न त आफन्तसँगको भेटघाटको उल्लास नै । विगतमा खुसी र उमङ्ग लिएर भित्रिने दसैँ यस वर्ष पीडा बोकेर आएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले यहाँका ३० जना छिमेकीलाई एकैपटक बेपत्ता बनायो । त्यसपछि गाउँको खुसी पनि त्यही बाढीसँगै बगेजस्तै भएको छ । कतिका न लास भेटिए, न श्वास । आफन्तले कुशको प्रतिमा बनाएर काजकिरियासमेत गरिसकेका छन् । त्यस दिन बिहान करिब ४ः३० बजे पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बस रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्किएको थियो । धार्मिक यात्रामा निस्किएका यात्रुका परिवार आफ्ना मान्छे सकुशल फर्किने अपेक्षामा थिए । तर भोटेकोशीमा आएको बाढीले उनीहरूको जीवनमा बज्रपात गर्‍यो । गाउँका यात्रुलाई सुरक्षित यात्रा गराउन हिँडेका चालक सागर देवकोटा आफैँ सकुशल फर्किन पाएनन् । त्यस दिनदेखि भावविह्वल बनेका उनका बुबा टीकाराम देवकोटालाई दसैँले झन् पीडा थपेको छ । टीकारामले छोरा मात्रै होइन, श्रीमती राममाया देवकोटालाई पनि गुमाए । ‘हाम्रो त्यही एउटा गाडी थियो । छोरा आफैँले चलाउँथ्यो । त्यस दिन बिहानै हिँडेको छोरा र श्रीमतीलाई पनि बाढीले बगायो । अरू आफन्त मैले गुमाएँ,’ उनी भन्छन्, ‘यो दसैँ सुरु भएदेखि नै झन्झन् विगतका सम्झनाले झस्काउँछ । अरूको घरमा रमझम छ, हाम्रो घरमा तनाव छ । कहिले सकिएला जस्तो लाग्छ ।’ अहिले घरमा उमेरले ८० कटेका बुबा, बौद्धिक अपाङ्गता भएकी छोरी, बुहारी र पाँच वर्षीया नातिनी छन् । छोराकै भरमा परिवारको खर्च टर्थ्यो । अहिले कसरी जीवन चलाउने भन्ने अनिश्चितता छ । सोही गाउँका अर्का सागर देवकोटाले पनि बुबा रामहरि र आमा कमलालाई बाढीमा गुमाए । जीवनका हरेक उतारचढावमा सँगै हिँडेका बुबाआमा बाढीमा परेदेखि उनका आँखा ओभाएका छैनन् । परदेशमा हुँदा दसैँमा गाउँ फर्केर बुबाआमासँग चाड मनाउन आतुर हुने सागरले अब उनीहरूको हातबाट टीका लगाउन पाउनेछैनन् । आमाले रातो माटोले घर पोतेर सजाएपछि र बुबाले खसीको जोहो गरेपछि दसैँ आएको महसुस गर्ने सागरका लागि अब ती क्षण सम्झनामा सीमित भएका छन् । तर यो यथार्थ स्वीकार्न उनको मन अझै मानिरहेको छैन । बुबाआमा फर्केर आइहाल्छन् कि भन्ने आशाले सताउन छाडेको छैन । ‘जीवनभर एक–अर्काको छहारी बनेर बाँचेका बुबाआमाले जाँदा पनि कसैलाई एक्लै छाड्न रुचाएनन् । जिउँदा पनि सँगै, मर्दा पनि सँगै भन्ने बोलीलाई उनीहरूले आफ्नै जीवनको अन्तिम सत्य बनाइदिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । एउटै आँगनमा हुर्किएको माया, एउटै चुलोमा पाकेको सम्बन्ध र वर्षौँसम्म जोडिएको मुटुको धड्कन अन्तिम श्वासमा पुगेर पनि अलग्गिन नमानेजस्तो लागेको भन्दै सागर मनको बह पोख्छन् । ‘एउटै चितामा आमाको पार्थिव शरीर र बुबाको कुशको शव लहरै राखेर दागबत्ती दिँदा पञ्चतत्त्वमा बिलाउँदै गरेको त्यो आगोले शरीरलाई मात्र होइन, उनीहरूको अटुट प्रेम र समर्पणलाई पनि अमर बनाइदिँदोरहेछ,’ उनी भन्छन् । बुबाको सामीप्य र आमाको न्यानो काख एकैपटक गुमाउँदा सागरलाई सिङ्गो संसार रित्तो लागिरहेको छ । ‘विगतमा दसैँ आउँदा गाउँमा बेग्लै रौनक हुन्थ्यो । परदेश गएकाहरू घर फर्किन्थे, आफन्त जम्मा हुन्थे, भेटघाट र रमाइलो हुन्थ्यो । तर यस वर्ष गाउँमा दसैँको कुनै उल्लास छैन,’ पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे भन्छन् । उनका अनुसार बसमा ३६ यात्रु सवार थिए । तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् । बाढीले बगाएका ३० जनामध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भई काजकिरिया सकिएको छ । आफ्ना ३० जना छिमेकीलाई बाढीले बगाएपछि गाउँ शोकमा डुबेको पाण्डे बताउँछन् । चाडपर्वको समय भए पनि कसैको मन रमाउन सकेको छैन । अरू गाउँमा दसैँको चहलपहल बढिरहेका बेला यहाँका परिवार भने आफ्ना मान्छे फर्किने प्रतीक्षामा छन् । त्यसयता गाउँका कतिपय घरमा चुलो त बल्छ, तर मनमा खुसी बल्न सकेको छैन । दसैँका लागि किनमेल गर्ने, घर सफा गर्ने, आफन्तको स्वागत गर्ने र परिवारसँगै चाड मनाउने तयारीमा जुट्नुपर्ने बेला गाउँ प्रियजनको सम्झनामा टोलाइरहेको छ । ‘दसैँमा घर फर्किनेहरूको लर्को लाग्दा यहाँ भने आफ्ना प्रियजन कहीँकतैबाट फर्किहाल्छन् कि भनेर झुक्किन्छन् । चाडपर्वले परिवारसँगको सामीप्य र मिलनको खुसी बाँड्ने भए पनि यही समय कसैका लागि पीडा सम्झाउने क्षण बनेको छ,’ पाण्डे भन्छन् । दसैँलाई मीठा परिकार खाने, टीका र जमरा लगाउने, परिवार तथा आफन्तसँग भेटघाट गर्ने, दुःखसुख साट्ने र वर्षभरिका थकान बिर्सिने अवसरका रूपमा लिइन्छ । तर यसपालि बाढीमा आफन्त गुमाएकाहरूलाई दसैँ नआएकै भए हुन्थ्योजस्तो लागेको छ । मृत्यु दर्ताको प्रतीक्षामा परिवार भोटेकोशीको विनाशकारी बाढीले कसैको घर बगायो, कसैको गाउँ उजाड्यो । कसैले आफन्त गुमाए, कसैले जीवनको आधार । गुमेको संसार फर्किने सम्भावना नरहे पनि बाढीमा मृत्यु भएका वा बेपत्ता आफन्तको कानुनी अवस्था स्पष्ट भए हुन्थ्यो भन्ने टीकारामको चाहना छ । ‘छोरा र श्रीमती त अब फर्केर आउँदैनन् । बाँच्नेको जीवनलाई केही सहज बनाउन राज्यले अब उनीहरूको मृत्यु दर्ताको प्रमाणपत्र दिए हुन्थ्यो । बीमालगायतका सुविधा पाइन्थ्यो कि भन्ने आशा छ,’ उनी भन्छन् । बाढीमा मृत्यु भएका तथा बेपत्ता बुबाआमाको मृत्यु दर्ता, कानुनी हकदाबी, राहत र क्षतिपूर्तिको प्रक्रिया सहज नहुँदा प्रभावित परिवार दोहोरो पीडा भोग्न बाध्य भएको सागर देवकोटा बताउँछन् । एकातिर आफन्त गुमाउनुको असह्य पीडा छ, अर्कातिर कानुनी कागजातको अभावमा राहत र सेवा–सुविधाका लागि भौँतारिनुपर्ने बाध्यता । ‘बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक मृत्यु दर्ता, हकदाबी, क्षतिपूर्ति र राहतका लागि आवश्यक कानुनी प्रक्रिया सुल्झिन नसक्दा हामी पीडितहरू झन् मारमा परेका छौँ,’ सागर भन्छन् । मृत्यु दर्ता प्रमाणपत्रसँग राहत, क्षतिपूर्ति, सम्पत्तिको हक र पारिवारिक अधिकारसमेत जोडिएका छन् । तर बेपत्ता व्यक्तिको कानुनी अवस्था स्पष्ट नहुँदा परिवारका सदस्यले सेवा–सुविधा लिन नसकेको पीडितको गुनासो छ । मृत्यु दर्ता प्रमाणपत्र र बेपत्तासम्बन्धी कानुनी कागजातको अभावमा गण्डकी प्रदेश सरकारले घोषणा गरेको राहत प्राप्त गर्न कठिनाइ भएको उनीहरू बताउँछन् । वडाध्यक्ष पाण्डेले मृतकका नाममा रहेको सम्पत्तिको हकदाबी, बैंक तथा बीमासम्बन्धी प्रक्रिया र अन्य सरकारी निकायबाट प्राप्त हुने सेवा–सुविधामा समेत अवरोध पुगेको बताए । अझै हटेन मानसिक सन्त्रास त्यस दिन बसका सहचालक थिए गोरखाको सिरानचोक गाउँपालिका, खमारीका निरज भण्डारी । बिहान झिसमिसे उज्यालो नहुँदै हिँडेको बस गल्छीमा नास्ता खान रोकिएपछि नुवाकोटतर्फ अघि बढ्यो । गल्छीमै हुँदा रसुवाबाट बाढी आएको भन्ने गाइँगुइँ सुनिएको थियो । तर त्यस्तो महाविपत्ति होला भनेर कसैले पत्याएनन् । यात्रु आ–आफ्नै कुराकानीमा थिए । बाहिर घाम लागिरहेको थियो । त्रिशूली नदी पनि सधैँझैँ आफ्नै गतिमा बगिरहेको देखिन्थ्यो । नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, ‘बाढी आइरहेको छ, भागौँ–भागौँ ।’ तर त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन् । केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो । गड्याङगुडुङको आवाज सुनियो । ‘गाडी रोक, गाडी रोक !’ अचानक चर्को आवाज आयो । ढोकानजिकै बसेका निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको बाढीको ठूलो छाल आउँदै गरेको देखे । भागेर माथि पुगेपछि फर्केर हेर्दा बस बगिरहेको थियो । भेलसँगै बगिरहेको बसलाई निरज चाहेर पनि केही गर्न सक्ने अवस्थामा थिएनन् । ‘आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढीलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ,’ निरज भन्छन्, ‘त्यो दिन सम्झँदा अझै डर लागिरहेको छ ।’ बाँचेर फर्किएका रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा र पार्वती न्यौपाने पनि उक्त घटना सम्झँदा अझै तर्सिन्छन् ।