काठमाडौँ। बडादसैँ मनाउन घर फर्किने क्रम बढेसँगै घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक जन्मथलो फर्किन थालेपछि प्रमुख नाकामा यात्रु र सवारीसाधनको चाप बढेको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ महिला र तीन लाख ४८ हजार ८२३ पुरुष छन् । दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्दै गएको उनले जानकारी दिए । कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ । यी नाकामा सवारीसाधनको चाप बढेपछि आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ । यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको काफ्लेले बताए । ‘यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो’, उनले भने । चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । यात्रु र चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनले बताए । दसैँमा घर फर्किने यात्रुको चापसँगै राजधानीका सडक, बसपार्क तथा उपत्यकाका प्रमुख नाकामा चहलपहल बढेको छ ।