काठमाडौँ फिल्म फेस्टिभलमा साझेदारहरुको साथ 

  • मङगलबार ४ कात्िक २०८३ ०८:५६ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा सहयोग गर्न विभिन्न साझेदारसँग सहकार्य थालिएको छ । यस क्रममा फिल्म प्रदर्शन पार्टनरका रुपमा जय नेपाल सिनेमा, सवारी साधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि नेपालका लागि अमेरिकी दूताबास, अष्ट्रेलियन दूताबास, यूनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको छ ।  डिजिटल टिकेटिङ् पार्टनरका रुपमा हिमालय पेसँग, कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार संग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको छ । सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौँ म्याराथन), आतिथ्यताका लागि होटल एशोसिएनसन (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेरिङ एशोसिएसन)सँग, इभेन्ट म्यानेजमेन्टका लागि माब्रिक्स र आइएसएससँग सम्झौता भइसकेको छ ।  काठमाडौँ महानगरपालिकाको आयोजनामा कार्तिक १३, १४ र १५ गते फेस्टिभल अन्तर्गत बसन्तपुर, राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा र तारागाउँ नेक्स्ट म्युजियममा विभिन्न कार्यक्रम हुनेछन् । फेस्टिभलको शुभारम्भ १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट हुनेछ । शुभारम्भ अवसरमा भिडियो च्यालेञ्जबाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र सिन्दुरको खुला प्रदर्शन हुनेछ । जुद्ध शालिकदेखि अगाडि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने यी चलचित्र हेर्नका लागि महानगरपालिकाले सर्वसाधारण सबैलाई खुला आव्हान गरेको छ ।  फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेशनल पानोरामा अन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै महानगरपालिकाले आव्हान गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेताहरुलाई अवार्ड र ‘नेपाल पानोरमा’ बाट छानिएका लाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।  नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरु सञ्चालन हुनेछन् ।  कार्तिक ८ गते आइतबार बसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्रहुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ । नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा रेड कार्पेट कार्यक्रम आयोजना हुनेछ ।  काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो । यसलाई विकास र विस्तार गर्न महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योगको प्रवर्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेशाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ ।  यस अन्तर्गत विभिन्न सञ्चालन भएका कार्यक्रममध्ये पहिलो संस्करणमा ‘टोलटोलमा फ्लिम फेस्टिभल’ सम्पन्न भइसकेको छ । काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत इलिफेन्टस इन द फगको विशेष प्रदर्शनसँग चलचित्रको टीमसँग फिल्म अध्ययन गरिरहेको विद्यार्थीहरुको अन्तरक्रिया सम्पन्न भइसकेको छ ।  महानगरपालिकाले रचनात्मक उद्योगका साझेदार, पेशाकर्मी तथा विज्ञहरुसँग सहकार्य गरेर फेस्टिभलमार्फत  रचनात्मक उद्योगको विकास र नवप्रवर्तनमा काम गरिरहेको हो । यसबाट स्थानीय अर्थतन्त्रको विकासमा नतिजा प्राप्त हुने अपेक्षा छ । विद्यार्थी, समुदाय र पेशाकर्मीलाई चलचित्रप्रति रुचि जगाउन, चलचित्र संवादमार्फत शिक्षा, सूचना र सन्देशका विषय जोडिने आशा राखेको छ ।