काठमाडौं । नेपालको बहुचर्चित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुने मिति नजिकिँदै जाँदा दर्शकमा उत्साह बढ्दै गएको छ। प्रतियोगिताको मिति नजिकिएसँगै आयोजकले तयारी पनि तीव्र पारेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुँदै छ। आयोजकका अनुसार यसपटकको प्रतियोगिता विगतका संस्करणभन्दा थप भव्य हुने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि कीर्तिपुर मैदानमा पिच स्तरोन्नति, प्यारापिट विस्तार, भीआईपी बक्स निर्माण तथा मैदान वरिपरि मर्मतसम्भार र पूर्वाधार निर्माणका काम भइरहेका छन्। क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित बनाउन तयारी भइरहेको बताए। उनका अनुसार एनपीएलका विगतका संस्करणमा देखिएका दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको छ। आईसीसीको मान्यतापछि थप चर्चा दुई संस्करण सम्पन्न भइसकेको एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएसँगै प्रतियोगिता थप चर्चामा आएको छ। आईसीसीको मान्यतापछि एनपीएलमा टेस्ट राष्ट्रका खेलाडी ल्याउने बाटोसमेत खुलेको छ। क्यानका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काका अनुसार एनपीएलका फ्रेन्चाइज टोलीले बढीमा आठ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। तीमध्ये कम्तीमा एक जना एसोसिएट राष्ट्रको हुनुपर्नेछ। खेल्ने अन्तिम ११ जनाको टोलीमा भने सात जना नेपाली र चार जना मात्र विदेशी खेलाडी राख्नुपर्ने प्रावधान छ। यसअघिका दुई संस्करणमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा चार र बढीमा छ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था थियो। आईसीसीको मान्यता प्राप्त गरेपछि क्यानले पाँचबुँदे सर्त पालना गर्नुपर्नेछ। ती सर्तअनुसार प्रतियोगिता सम्पन्न भएको ६० दिनभित्र समीक्षा गरी प्रतिवेदन आईसीसीलाई बुझाउनुपर्नेछ। त्यस्तै, एन्टी करप्सन युनिट (एसीयू) को आचारसंहिता उल्लङ्घन गरी म्याच फिक्सिङ, स्पट फिक्सिङलगायत गतिविधिमा दोषी पाइए नेपालको प्रचलित भ्रष्टाचारविरोधी कानुनका साथै आईसीसीअन्तर्गतका अन्तर्राष्ट्रिय नियमसमेत आकर्षित हुनेछन्। आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी सबै विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट अनिवार्य रूपमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ। क्यानका अनुसार एनपीएलको आधिकारिक टी–२० मान्यता (स्टाटस) का विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको छ। यससम्बन्धी प्राविधिक स्पष्टता केही दिनमै आउने अपेक्षा गरिएको छ। यसपटक प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गर्ने तयारीका कारण पनि एनपीएल थप चर्चामा छ। क्यानका अधिकारीका अनुसार डीआरएस भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएललाई आईसीसीको मान्यता दिलाउन आईसीसी अध्यक्ष जय शाहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आभार व्यक्त गरेका छन्। उनले आईसीसी अध्यक्ष शाहसहितको टोली एनपीएल अवलोकनका लागि नेपाल आउन सक्ने सम्भावना रहेको बताए। आगामी मङ्सिर १ देखि ३ गतेसम्म नेपालमा आईसीसी एसिया कन्फ्रेन्स आयोजना हुने र सोही क्रममा आईसीसीको टोलीले एनपीएल अवलोकन गर्न सक्ने चन्दको भनाइ छ। प्रायोजन सम्झौता र पारदर्शिताको प्रश्न कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा आठ टोली सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ। प्रतियोगिता नजिकिँदै जाँदा प्रायोजन सम्झौता र प्रायोजकसमेत चर्चामा आउन थालेका छन्। यससँगै विज्ञापन तथा प्रायोजन प्रक्रियाको पारदर्शिताबारे पनि प्रश्न उठ्न थालेको छ। विज्ञापन बोर्डका निवर्तमान अध्यक्ष लक्ष्मण हुमागाईंले व्यावसायिक तथा प्रवर्द्धनात्मक उद्देश्यले प्रायोजन गर्नु सकारात्मक भए पनि त्यसको प्रक्रिया पारदर्शी हुनुपर्ने बताए। ‘एनपीएलजस्तो राष्ट्रिय खेलपर्वमा प्रायोजकहरू अगाडि आउनु निकै सकारात्मक हो। तर प्रायोजनको सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्छ। अँध्यारो कोठामा बसेर अपारदर्शी ढङ्गले यस्ता सम्झौता हुनु हुँदैन’, उनले भने। नेपाल क्रिकेट सङ्घले एनपीएलको प्रायोजनका लागि नेपाल टेलिकमसँग पनि सम्झौता गरेको छ। कात्तिक १ गते आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारी र क्यानका जनरल म्यानेजर उत्सव ढुङ्गानाले सम्झौतामा हस्ताक्षर गरेका थिए। सम्झौतापछि अधिकारीले दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको बताए। उनले नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास तथा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहकार्यले सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवर्द्धन गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडिएको छ। नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा क्यान तथा सङ्घले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको थियो। क्यानका जनरल म्यानेजर ढुङ्गानाले टेलिकमसँगको सहकार्यले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। दर्शकमा बढ्दो आकर्षण एनपीएल तेस्रो संस्करणसम्म आइपुग्दा दर्शकमा प्रतियोगिताप्रतिको आकर्षण बढेको छ। विशेषगरी युवा वर्गमा देखिएको उत्साह उल्लेखनीय छ। नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता एनपीएल हेर्न काठमाडौं आउने योजनामा छन्। उनी अघिल्लो संस्करणमा पनि जनकपुर बोल्ट्सको खेल हेर्न काठमाडौं आएको सम्झन्छन्। गुप्ताजस्तै थुप्रै क्रिकेटप्रेमी प्रतियोगिता हेर्न उपत्यकाबाहिरबाट काठमाडौं आउने तयारीमा छन्। विदेशमा रहेका नेपालीले पनि एनपीएलप्रति चासो देखाएका छन्। साउदी अरबमा कार्यरत कुमार कार्कीका अनुसार त्यहाँ रहेका धेरै नेपाली एनपीएल हेर्न नेपाल आउन इच्छुक छन्। ‘तर रोजगारी नै छाडेर नेपाल जान कति सम्भव हुन्छ, हेरौँ’, उनले भने। अघिल्लो संस्करणमा टिकट उपलब्ध नभएका कारण खेल हेर्न नपाएका सप्तरीका दीपककुमार झा यसपटक भने खेलतालिका हेरेर पहिले नै टिकटको व्यवस्था गर्ने योजनामा छन्। क्यानका अधिकारीहरूले पनि विगतको तुलनामा यसपटक मैदानमा दर्शकको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरेका छन्। दर्शकको सम्भावित चापलाई ध्यानमा राख्दै प्यारापिटमा सिट थपेर क्षमता विस्तार गर्ने प्रयास गरिएको छ। यद्यपि, बढ्दो दर्शक सङ्ख्याका लागि अहिलेको विस्तार मात्र पर्याप्त नहुन सक्ने अधिकारीहरूको भनाइ छ।