दसैँ त गाउँमा नै रमाइलो

  • सोमबार ३ कात्िक २०८३ ०८:१४ AM
कर्णाली। बडादसैँ नजिकिँदै गर्दा देशविदेशबाट घर फर्कनेहरूको यतिबेला घुइँचो छ। हवाई होस् वा स्थलमार्ग, दुवैतिर यात्रुहरूलाई टिकट लिएर आफ्नो गन्तव्यमा पुग्न भ्याइनभ्याइ छ। यद्यपि, टिकट पाउन पनि त्यत्तिकै सकस छ। पैसा भए पनि भनेजस्तो सहज यात्रा भने यात्रुहरूले गर्न पाएका छैनन्। यात्रा निकै कष्टकर र महँगो छ। तर, दसैँमा परिवार, आफन्त तथा इष्टमित्रसँग भेट हुने आशाले उनीहरूलाई यात्राको कठिनाइ सहनुको विकल्प छैन।  कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरूको यात्रा अझ बढी जटिल र पट्यारलाग्दो बन्ने गर्छ। तथापि, घर पुग्ने र दसैँ मनाउने व्यग्र चाहनाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरूले अनुकूल बनाउँदै लगेको पाइन्छ। अमेरिका र युरोपभन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दसैँमा घर फर्कने परदेशीहरू परिवारसँगको मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिँडिरहेका छन्।  वर्षौंसम्म भेट्न नपाएका परिवारका सदस्य, भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा सङ्गीसङ्गिनीहरूका लागि दसैँ तथा तिहार सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भावना अभिव्यक्त गर्ने सङ्गम बनेका छन्। त्यसैले होला, सहर छाडेर गाउँतिर लाग्नेहरू खुसी मुद्रामा देखिन्छन्। भारतको बैङ्गलोरबाट घर फर्केका जुम्लाको तिला गाउँपालिका–४ का नमराज शाहीले सहरको कोलाहलबाट गाउँ फर्कंदा शान्तिभूमि पुगेको अनुभूति भएको बताए। दसैँ मनाउन आफू गाउँ पुगिसकेको बताउँदै उनले भने, ‘गाउँमा घरहरू छुट्टाछुट्टै छन्, तर सोच, मन र मानवीय भावनाहरू अति नजिक छन्। विडम्बना, सहरमा घरहरू जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ। मानव सम्बन्धमा दरारजस्तो देखिन्छ।’ उनले दसैँको अवसरमा सहरभन्दा गाउँमा निकै रमाइलो सुरु भएको बताए। शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबाली न्वागीका रूपमा खाने, आफूसँग भएका उत्पादन छिमेकीबीच आदानप्रदान गर्ने तथा पिङ खेल्दै दुःखसुख बाँडेर रमाइलो गर्ने काम भइरहेको छ। यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु तथा सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुहरूलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ। यद्यपि, काम तथा रोजगारीका सिलसिलामा घर छाडेर देश तथा विदेशका विभिन्न भागबाट बडादसैँ मनाउन घर जानेहरूको चटारो कायमै छ। सुर्खेत–दैलेख–कालीकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गरेका हुम्लाको अदानचुली गाउँपालिकाका मनरूप परियारले दुई दिन लगाएर घर पुगेको बताए। परियारले भने, ‘दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिँड्नु पनि पर्‍यो। आज बिहान मात्र घर पुगिएको छ। सहर छाडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ। मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ।’ नागरिकहरू दसैँ तथा दीपावली मनाउन मातृभूमि फर्केपछि सहरमा मानिसहरूको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ। सहरको आधाजसो जनसङ्ख्या गाउँ फर्केपछि रमझम पनि कम भएको छ। विमानस्थल र बसपार्कमा गाउँ जानेहरूकै भीड छ। सर्लाहीको ईश्वरपुर नगरपालिका–३ देखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकुमारी सिंहले यात्राको दुःखाइभन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताइन्। ‘रोजगारी र अवसरका हिसाबले घर छाडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो’, उनले भनिन्, ‘सामाजिक अपराध, चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहरभन्दा गाउँ नै सम्पन्न छन्। सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको अनुभूति हुन्छ।’ यात्रु सिंहले यतिबेला सहरभन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र दसैँको बहारले उमङ्गित र रङ्गीन बन्दै गएको बताइन्।