दाउराको भारी, छोरीका आँसु र ‘दारुलाई जितेको मान्छे’

  • आइबार​ २ कात्िक २०८३ ०८:४५ PM
अछाम । कहिलेकाहीँ जीवनमा एउटा यस्तो मोड आउँछ, जहाँ मानिसले पछाडि फर्केर हेर्दा आफूले हिँडेको बाटो आफैँलाई अपरिचित लाग्छ । सफलताको शिखर चढेको मान्छे अचानक आफ्नै कमजोरीको दलदलमा भासिन सक्छ । परिवार बनाएको मान्छे परिवारकै आँखामा पीडाको कारण बन्न सक्छ । तर जीवनको सबैभन्दा ठुलो सम्भावना त्यहीँबाट सुरु हुन्छ, जहाँ मानिसले आफ्ना गल्ती स्वीकार गरेर फेरि उठ्ने साहस गर्छ । अछामको साँफेबगर नगरपालिका–७, ककडसातका ज्ञानेन्द्रबहादुर ख्वासको जीवन यस्तै उतारचढावको कथा हो । विसं २०३७ साल पुस ९ गते जन्मिएका ख्वासले बाल्यकालमै बाबाको वियोग बेहोरे ।  उनी चार वर्षका मात्र थिए, जब उनका बाबाको निधन भयो । बाबाको मृत्युको अर्थ बुझ्ने उमेर थिएन । तर त्यसपछि उनको परिवारको संसार बदलियो । आमा विधवा बन्नुभयो र उनी बाबाको मायाबाट वञ्चित भए । बाबा मङ्गलसेनमा वकिल हुनुहुन्थ्यो भन्ने उनले अरूबाट सुनेका थिए । बाजे डिट्ठा भएको कुरा पनि उनलाई परिवारका सदस्यबाट थाहा भयो । तर आफ्नो बाल्यकाल भने उनले अभाव र सङ्घर्षमै बिताए । त्यसमाथि बाल्यकालमै विभिन्न रोग र शरीरमा देखिएका घाउले उनलाई थप कमजोर बनायो । कक्षा तीनमा पढ्दा साथीहरू उनको नजिक बस्नसमेत हिचकिचाउँथे । कतिपयले हेला गर्थे । अरू बालबालिका खेल्ने, रमाउने र साथीभाइसँग घुलमिल हुने उमेरमा ख्वासले भने शारीरिक पीडा र सामाजिक व्यवहार दुवै सहनुपर्‍यो । विसं २०४५ सालमा जेठा दाजुले उपचारका लागि उनलाई काठमाडौँ ल्याए । छालासम्बन्धी रोग देखिएपछि उपचार भयो । करिब छ महिनापछि स्वास्थ्यमा सुधार आयो । त्यसपछि उनी फेरि साथीहरूसँग खेल्न र नियमित विद्यालय जान थाले । पढाइमा पनि राम्रो गर्दै कहिले पहिलो, कहिले दोस्रो र कहिले तेस्रो स्थान हासिल गर्न थाले । सानै उमेरमा आत्मनिर्भर बन्ने सपना अभावले उनलाई कमजोर मात्र बनाएन, केही गर्ने हुटहुटी पनि जगायो । विसं २०४९ सालतिर बाजुराबाट काम खोज्दै आएका दुई किशोरसँग उनले माछा मार्ने र बेच्ने काम सुरु गरे । आफू कक्षा पाँचमा पढ्दै गर्दा उनले ती दुई जनालाई खानासहित मासिक एक हजार २ सय रुपैयाँ दिने प्रस्ताव राखे । उनीहरूले माने । नदीमा माछा मार्ने, बजारमा बेच्ने र त्यसबाट आम्दानी गर्ने काम सुरु भयो । त्यो सानो व्यापारिक अनुभवले उनलाई एउटा ठुलो कुरा सिकायो, केही गर्न उमेरभन्दा इच्छाशक्ति, आँट र हिम्मत ठुलो कुरा रहेछ । पछि गाउँमा आएका संस्थासँग जोडिए। बाल समूहको संयोजक बने । सामाजिक काम र विभिन्न ठाउँको भ्रमण गर्ने अवसर पाए । कक्षा आठ-नौ पढ्दा स्वयंसेवकका रूपमा समेत काम गरे । महिनामा आठ दिन काम गरेबापत एक हजार ५ सय रुपैयाँ पाउँथे । सामाजिक काम र आम्दानीको खोजीमा लाग्दा उनको पढाइ भने प्रभावित भयो । कहिलेकाहीँ वर्षमा ३०-३५ दिन मात्र विद्यालय पुग्ने अवस्था आयो । तर उनले हार मानेनन् । अनेकौँ चुनौती पार गर्दै एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनको मनमा एउटा सपना बलियो थियो, परिवारको अवस्था सुधार्ने, आफ्नै पहिचान बनाउने र समाजमा केही गरेर देखाउने । तर जीवनले उनलाई अर्को बाटोतर्फ डोर्‍यायो । आम्दानी दिने काम नै बिस्तारै लत बन्यो एसएलसीपछि केही कमाउने र व्यापार गर्ने उद्देश्यले उनले मदिरा उत्पादनको काम सुरु गरे । सुरुमा यो उनको लागि व्यवसाय थियो । करिब हप्ताको ५० लिटर मदिरा उत्पादन गर्न थाले । केही मानिसलाई काममा राखे र बयलपाटा तथा साँफेबगरका बजारसम्म मदिरा पुर्‍याउन थाले । व्यापार चल्यो । आम्दानी बढ्यो । घरपरिवार पाल्न, जग्गाजमिन जोड्न र व्यापार विस्तार गर्न सफल भए । बाहिरका व्यापारीसँग सम्बन्ध बढ्यो । उनी मदिरा व्यापार गर्ने डिलरका रूपमा परिचित हुन थाले । तर उनले अरूलाई बेच्न उत्पादन गरेको मदिरा बिस्तारै आफैँको जीवनमा प्रवेश गर्‍यो । पहिले व्यापारका रूपमा सुरु भएको काम व्यक्तिगत बानीमा बदलियो । मदिरा बनाउँदा–बनाउँदै आफैँ पिउन थाले । पिउँदापिउँदै कहिले त्यसको लतमा फसे, थाहा नै पाएनन् । विसं २०५८ साल मङ्सिर २ गते उनको विवाह भयो । श्रीमती, परिवार र भविष्यका नयाँ सपना थपिए । आम्दानी थियो, व्यापार थियो, परिवार चलिरहेको थियो । बाहिरबाट हेर्दा सबै ठिकठाक देखिन्थ्यो । तर भित्रभित्रै मदिराले उनको जीवनलाई आफ्नो नियन्त्रणमा लिन थालेको थियो । द्वन्द्व, व्यापार र बढ्दो जिम्मेवारी देशमा माओवादी द्वन्द्व चर्किएको समय थियो । विसं २०५९ सालमा एक रात केही व्यक्तिले उनलाई कुटपिट गरेर पैसा लुटे । उनीहरू वास्तविक माओवादी थिए वा थिएनन् भन्ने उनलाई थाहा भएन । तर घटनापछि उनको मनमा गहिरो डर बस्यो । असुरक्षाका कारण भारत गए र करिब एक वर्षपछि नेपाल फर्किए । नेपाल फर्किएपछि पनि उनी रोकिएनन् । विसं २०६१ सालमा जिल्ला प्रशासन कार्यालयमा  ‘रोपास’ नामक संस्था दर्ता गरे । संस्था दर्ता गरे पनि प्रहरी प्रतिवेदन आवश्यक पर्ने प्रक्रियाका कारण फेरि कठिनाइ भोग्नुपर्‍यो । विसं २०६२ सालमा साँफेबगरको छिपेखोलामा ठुलो किराना पसल खोले । त्यसको केही समयपछि नेसनल हेल्थ फाउन्डेसनमा जागिर पाए । मासिक पाँच हजार रुपैयाँ तलब थियो । त्यसपछि कृषि विकास कार्यालयसँग सम्बन्धित परियोजनामा काम गर्ने अवसर पाए । पायल, रिडिकोट र सपउडीलगायत क्षेत्रमा तरकारी खेती, खाद्यान्न बाली र बाख्रा पालनका लागि १० लाख रुपैयाँको परियोजना प्राप्त भयो । जागिर, व्यापार र सामाजिक काम-तीनै क्षेत्र एकसाथ अघि बढिरहेका थिए । बाहिरबाट हेर्दा उनको जीवन सफलताको बाटोमा थियो । तर भित्र भने मदिराको लत झन् गहिरिँदै थियो । सम्पत्ति सकियो, परिवारको खुसी हराउँदै गयो समय बित्दै जाँदा दुई छोरा र एउटी छोरी जन्मिए । परिवारको जिम्मेवारी बढ्यो । तर त्यही समयमा मदिराको लतले उनलाई झन् गाँज्यो । बिहानदेखि बेलुकासम्म नशामा डुब्न थाले । कहिलेकाहीँ खाना खानसमेत बिर्सन्थे । कमाएको सम्पत्ति बिस्तारै सकिन थाल्यो । जग्गाजमिन बिक्री भयो । व्यापार कमजोर भयो । श्रीमतीका गरगहनासमेत बेच्नुपर्ने अवस्था आयो । समाजमा उनको परिचय पनि बदलिँदै गयो । कुनै समय सम्मानका साथ बोलाउने टाढिन थाले । सामाजिक जमघटमा बोलाउने कम भए । काम गर्ने र केही गर्ने व्यक्तिका रूपमा बनेको पहिचान मदिरामा डुबेको मानिसका रूपमा बदलिन थाल्यो । तर उनको पतनको सबैभन्दा ठुलो मूल्य परिवारले चुकाइरहेको थियो । राति १२-१ बजेसम्म घर नफर्किँदा श्रीमती, आमा र छोराछोरी खाना नखाई पर्खिन्थे । घरमा कहिले फर्किन्छन्, फर्किएपछि के हुन्छ भन्ने चिन्ता परिवारका लागि हरेक रातको नियति बन्न पुगेको थियो । दाउराको भारी बोकेर श्रीमती उनको जीवनको सबैभन्दा पीडादायी अध्याय उनकी श्रीमतीसँग जोडिएको छ । उनका अनुसार, उनी राति अबेरसम्म नफर्किँदा परिवार भोकै पर्खिन्थ्यो । उनी भने मदिराको नशामा परिवारले भोगिरहेको पीडा बुझ्न सक्दैनथे । एक समय उनकी श्रीमती बिहान चार बजे उठेर दाउराको भारी बोकेर साँफेबगर पुग्थिन् । अरूले नदेखुन् भनेर दाउरा बेच्थिन् । दुई सय रुपैयाँमा दाउरा बिक्री गरेपछि एक सय रुपैयाँ घरको नुन तेल र आवश्यक सामानमा खर्च गर्थिन् । बाँकी एक सय रुपैयाँ भने श्रीमानलाई मदिरा किन्न दिनुपर्ने अवस्था थियो । आज सम्झँदा यही घटनाले ख्वासलाई सबैभन्दा बढी पोल्छ । जुन हातले आफ्ना छोराछोरीको भविष्य बनाउनुपर्ने थियो, त्यही हात दाउराको भारी बोक्न बाध्य थियो । जुन श्रीमतीले परिवारको खुसीका लागि जीवनसाथीको साथ पाउनुपर्ने थियो, उनी श्रीमानको लतका कारण विवशतासँग जुधिरहेकी थिइन् । ‘ड्याडी, अबदेखि रक्सी नखानु’ उनको जीवन बदल्ने अर्को ऐना बनेकी थिइन्, उनकी सानी छोरी । कहिलेकाहीँ राति अबेर घर फर्किएका बेला बिहान छोरी उनीसँगै सुतेकी हुन्थिन् । उठ्ने बित्तिकै उनी रुन थाल्थिन् । 'ड्याडी, अबदेखि रक्सी नखानु । हामी भोकै बस्नुपर्छ ।' सानी छोरीका यी शब्दले उनको मन चिरिन्थ्यो । उनी छोरीलाई काखमा राखेर वाचा गर्थे, अबदेखि मदिरा नखाने । तर केही समयपछि फेरि उही बेचैनी सुरु हुन्थ्यो र उनी मदिरातिर फर्किन्थे । छोरीका लागि बाबालाई मदिरा नखान आग्रह गर्नु असामान्य कुरा थियो । तर ख्वासका लागि ती आँसु उनको आफ्नै जीवनको ऐना बने । आफूले गरेको गल्तीको असर केवल आफूमा होइन, निर्दोष छोराछोरीको जीवनमा समेत परेको उनले महसुस गर्न थाले । मदिराको लतका कारण छोराको विद्यालय शुल्क तिर्न नसकेर विद्यालयबाट निकालिएको अवस्था पनि आयो । पछि सरकारी विद्यालयमा पढाउनुपर्ने भयो । छोराछोरीले गहुँको रोटीसमेत खान नपाएको अवस्था सम्झँदा आज पनि मन दुख्ने उनी बताउँछन् । त्यसपछि उनको मनमा एउटा प्रश्न उठ्न थाल्यो, मैले आखिर के कमाएँ