उपसचिव दाजुभाइ : सुरेश र सुदीपसिंह सुनारको प्रेरणादायी कथा

  • आइबार​ २ कात्िक २०८३ १०:४४ AM
काठमाडौं । नेपालको प्रशासनिक संरचनाभित्र भौगोलिक विकटता, आर्थिक अभाव र सामाजिक उत्पीडनलाई चिर्दै उच्च ओहोदामा पुग्ने व्यक्तिको कथा सधैँ अनुकरणीय हुन्छ । त्यसमा पनि परम्परागत रूपमा राज्यको प्रशासनिक संयन्त्रबाट किनार पारिएका र अवसर बाट पछाडि पारिएका दलित समुदायबाट उठेर राज्यको नीति निर्माण र कार्यान्वयन गर्ने माथिल्लो तहसम्म पुग्नु आफैँमा एक क्रान्तिकारी परिघटना हो । कर्णाली प्रदेशको दुर्गम तथा ऐतिहासिक जिल्ला जाजरकोटको भेरी नगरपालिका–४ का दलित समुदायका सुनार दाजुभाइ, सुरेश सुनार र सुदिपसिंह सुनारको सफलताको कथा नेपाली निजामती प्रशासनभित्र एक अनुपम, गौरवशाली र ऐतिहासिक उदाहरण बनेको छ । कुनै समय राज्यको माथिल्लो दर्जाको प्रशासनिक पदमा पुग्नु त परै जाओस्, त्यसको कल्पना गर्न पनि कठिन हुने सामाजिक तथा आर्थिक परिवेशमा जन्मिएका यी दुई दाजुभाइ आज नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा कार्यरत छन् ।  जेठा भाइ सुरेश सुनार भर्खरै रोल्पाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी सम्हाल्न पुगेका छन् भने कान्छा भाइ सुदिपसिंह सुनार लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा सिफारिस भई दैलेखको आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन् ।  शून्यबाट सुरु भएको उनीहरूको बाल्यकाल, अभाव, सङ्घर्ष, निरन्तरको अध्ययन र निजामती सेवाको यात्राको यो विस्तृत विवरणले सफलताको वास्तविक अर्थलाई प्रस्ट पार्छ । सामान्य कृषि र परम्परागत पेसामा आधारित आर्थिक पृष्ठभूमिमा हुर्केको परिवार जाजरकोट जिल्ला भौगोलिक रूपमा विकट र ऐतिहासिक रूपमा कर्णालीको एक महत्त्वपूर्ण क्षेत्र हो । सदरमुकाम खलङ्गा र आसपासका भेरी उपत्यकाका क्षेत्रमा विगतमा शिक्षा, स्वास्थ्य र सूचनाको पहुँच निकै सीमित थियो । झन् दलित समुदायका लागि त समाजमा विद्यमान परम्परागत छुवाछूत, सामाजिक विभेद र आर्थिक न्यूनताका कारण शिक्षा प्राप्त गर्नु नै ठूलो सङ्घर्षको विषय थियो । सुनार परिवार पनि त्यस्तै सामान्य कृषि र परम्परागत पेसामा आधारित आर्थिक पृष्ठभूमिमा हुर्केको परिवार हो । आमाको दूरदृष्टि र बुवाको श्रम सुरेश र सुदिपसिंहको यो सफलताको जग खडा गर्न उनीहरूका आमा–बुवाको योगदान निर्णायक थियो । उनीहरूका बुवाले दिनरात माटो र श्रमसँग पौँठेजोरी खेलेर परिवारको आर्थिक जोहो गर्नुभयो भने आमा निरक्षर भए पनि शिक्षाको अतुलनीय महत्व राम्ररी बुझ्नुहुन्थ्यो । गाउँमा अरू बालबालिका बिहानै घाँस, दाउरा र गाईवस्तु चराउन जाँदा आमाले आफ्ना छोरालाई आँगनमा लिपेर किताब अगाडि राखिदिने गर्नुहुन्थ्यो । ‘हामीले दुःख पायौँ, तर मेरा छोराले पढेर मान्छे बन्नुपर्छ’ भन्ने आमाको दृढ सङ्कल्पकै कारण परिवारले गाउँको खेतीपाती छाडेर बालबच्चाको राम्रो पढाइका लागि सदरमुकाम खलङ्गामा बसाइँ सर्ने जोखिमपूर्ण निर्णय लिएको थियो । आमाको त्यही दूरदृष्टि र बुवाको पसिनाले नै आज दुवै दाजुभाइलाई देशको उच्च प्रशासनिक ओहोदामा पुर्याउने आधार तयार पारिदियो । जेठा भाइ सुरेश सुनारः गाउँका मुखियादेखि रोल्पाका सिडिओसम्मको यात्रा सुरेश सुनारको जन्म रुकुमको चौरजहारी (मामाघर) मा भएको भए तापनि उनको बाल्यकाल र प्रारम्भिक शिक्षा जाजरकोटमै बित्यो । भेरी नगरपालिका–४ स्थित गाउँकै विद्यालयबाट प्राथमिक शिक्षा सुरु गरेका सुरेशले ९–१० र ११–१२ कक्षा सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयबाट पूरा गरे । जाजरकोट सदरमुकाममा बस्दा उनले जिल्ला प्रशासन कार्यालय, सिडिओको निवास, प्रहरी प्रमुखको कार्यशैली र सरकारी अधिकारीको रवाफ नजिकबाट देख्न पाए । त्यो दृश्यले उनको सानो मनमा अनौठो कौतूहल पैदा गर्यो । उपल्लो तहको सरकारी अधिकारी बनेर जनताको सेवा गर्ने र समाजमा सम्मानजनक पहिचान बनाउने सपना उनले त्यही बेलादेखि बुन्न थालेका थिए । अस्थायी मुखियाबाट सुरुवात निजामती सेवामा प्रवेश सुरेशको प्रशासनिक यात्रा कुनै ठूलो पदबाट सिधै सुरु भएको होइन । उनी तल्लो तहबाट क्रमिक रूपमा उकालो चढेका हुन् । २०६१–६२ तिर उनले घरेलु तथा साना उद्योग विकास समितिमा मुखिया (तह ३) पदको अस्थायी दरबन्दीबाट सरकारी सेवा सुरु गरे । त्यहाँ करिब साढे दुई वर्ष काम गर्दा उनले निजामती सेवाको कार्यप्रणाली, कानुनी प्रक्रिया र प्रशासनिक संरचनाबारे व्यावहारिक ज्ञान हासिल गरे । २०६४ सालमा निजामती सेवा ऐनको दोस्रो संशोधन भएपछि लोक सेवा आयोगले खुला तथा समावेशी विज्ञापन गर्यो । सुरेशले पहिलो प्रयासमै नासु पदमा नाम निकाल्न सफल भए । नायब सुब्बा भएपछि सुरेशको पदस्थापन आफ्नै गृहजिल्ला जाजरकोटको विकट टालेगाउँ गाउँविकास समितिमा भयो । गाविस सचिवका रूपमा काम गर्दा उनले ग्रामीण जनताका दैनन्दिन समस्या, विकास निर्माणका चुनौती र स्थानीय प्रशासनको महत्वलाई नजिकबाट बुझे । त्यसपछि उनले क्षेत्रीय सिँचाइ निर्देशनालय सुर्खेतमा काम गरे । नासुमा कार्यरत रहँदा नै उनले आफ्नो उच्च शिक्षालाई निरन्तरता दिए र स्नातक तह पूरा गरे । कडा मेहनत, लगनशीलता र निरन्तरको अध्ययनका कारण २०६९ साल असोजमा लोक सेवा आयोगमार्फत खुला प्रतिस्पर्धाबाट उनी शाखा अधिकृत पदमा सिफारिस भए । शाखा अधिकृतको रूपमा प्रशासनिक परिपक्वता शाखा अधिकृत भएपछि सुरेशले देशका विभिन्न महत्त्वपूर्ण निकायमा रहेर कार्यसम्पादन गरे । जसमा सबैभन्दा पहिले गृह जिल्ला मालपोत कार्यालय जाजरकोटमा पहिलो पदस्थापन पाएर भूमिसम्बन्धी संवेदनशील कार्य सम्हाले । त्यसपछि सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा रहेर भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने कार्यमा अनुभव बटुले । अख्तियारपछि बर्दियाको सानोश्री ताराताल नगरपालिका र पछि ठाकुरबाबा नगरपालिकामा कार्यकारी अधिकृतका रूपमा काम गरे । २०७४ सालको स्थानीय तह निर्वाचनका बखत ठाकुरबाबा नगरपालिकामा जनप्रतिनिधिसँग मिलेर नवनिर्मित स्थानीय तहको संरचनात्मक र कानुनी जग बसाल्न उनले अग्रणी भूमिका निर्वाह गरे । त्यसपछि स्थानीय निकाय वित्तीय आयोगको सचिवालय काठमाडौँमा रहेर अन्तर–सरकारी वित्त हस्तान्तरण र स्थानीय निकायको वित्तीय नीति निर्माणमा योगदान दिए । उपसचिवमा सिफारिस र जिल्ला हाँक्ने जिम्मेवारी (सिडिओ यात्रा) शाखा अधिकृतमा करिव पाँच वर्ष विताएपछि २०७५ सालमा सुरेश सुनार नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदमा खुला प्रतिस्पर्धाबाटै सिफारिस भए । उपसचिव भएपछि उनले प्रशासनिक नेतृत्वका रूपमा विभिन्न जिल्ला र मन्त्रालयमा महत्वपूर्ण भूमिका निर्वाह गरे । जसमा घोडाघोडी नगरपालिका, कैलालीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्दै स्थानीय तहको विकासलाई गति दिए । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) को रूपमा शान्ति सुरक्षा र नागरिक सेवा प्रवाह सम्हाले । बाँकेपछि बझाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा पहिलोपटक सिङ्गो जिल्लाको शान्ति सुरक्षा र प्रशासनिक नेतृत्व सम्हाले । बझाङपछि मोरङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा औद्योगिक तथा सीमावर्ती जिल्लाको जटिल प्रशासनिक अनुभव हासिल गरे । त्यसपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा कर्णालीको अत्यन्तै विकट जिल्ला डोल्पामा काम गरे । भौगोलिक प्रतिकूलताका बाबजुद त्यहाँका जनतालाई सहज सरकारी सेवा उपलब्ध गराउन र विकास निर्माणको अनुगमन गर्न उनले निर्वाह गरेको भूमिका स्मरणीय रह्यो । त्यसपछि गृह मन्त्रालय, विद्युत विकास विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काम गरिसकेका सुरेश हाल रोल्पाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रूपमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने जिम्मेवारीमा सरुवा भएका छन् । कान्छा भाइ सुदिपसिंह सुनारः १८ वर्षमा सुब्बा, ३१ वर्षमा उपसचिव सुदिपसिंह सुनारको बाल्यकाल जाजरकोटकै भेरी उपत्यकाको प्राकृतिक र ग्रामीण वातावरणमा बित्यो । त्रिभुवन निम्न माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पढेपछि ९ र १० कक्षा त्रिभुवन उच्च मावि खलङ्गामा अध्ययन गरे । उनी सानैदेखि अध्ययनमा अत्यन्तै तीक्ष्ण र अनुशासित थिए । २०६४ सालको प्रवेशिका परीक्षा (एसएलसी) मा त्रिभुवन उच्च माविबाट १६७ जना विद्यार्थी सहभागी भएकामा मात्र २७ जना उत्तीर्ण भएका थिए । ती उत्तीर्ण हुने २७ जनामध्ये सुदिप उत्कृष्ट टप सात भित्र पर्न सफल भएका थिए, जसले उनको शैक्षिक क्षमतालाई सानैमा प्रमाणित गरेको थियो । दाइको मार्गदर्शन र चमत्कारिक प्रवेश, १८ वर्षमा नासु एसएलसी उत्तीर्ण गरेपछि सुदिप उच्च शिक्षाका लागि सुर्खेत आए र ११ तथा १२ कक्षाको अध्ययन सुरु गरे । त्यतिबेला उनका जेठा दाजु सुरेश काठमाडौँ र सुर्खेतमा नासु पदमा कार्यरत भइसकेका थिए । दाजु सुरेशले भाइ सुदिपभित्रको प्रतिभालाई पहिचान गरी उनलाई सही दिशा निर्देश गरे । दाजुले ज्ञानेश्वर भट्टराईद्वारा लिखित लोक सेवा तयारी सम्बन्धी पुस्तक किनेर सुदिपको हातमा थमाइदिँदै भनेका थिए, ‘अध्ययनलाई निरन्तरता देऊ, तर साथसाथै लोक सेवाको पनि गम्भीर तयारी गर । यसले तिम्रो भविष्य सुरक्षित बनाउँछ ।’ दाजुको त्यो भनाइ र निरन्तरको मार्गदर्शनलाई सुदिपले शिरोधार्य गरे । त्यसको नतिजा चमत्कारिक आयो, मात्र १८ वर्षको उमेरमा सुदिपले काठमाडौँ परीक्षा केन्द्रबाट लोक सेवा आयोगको परीक्षा दिएर नायब सुब्बा पदमा चारवटै समूह (लेखा, प्रशासन, राजस्व र लेखापरीक्षण) मा एकैपटक नाम निकाल्न सफल भए । नासु तथा लेखापालको रूपमा सेवा र स्नातक अध्ययन २०६८–६९ तिर १८ वर्षको उमेरमा निजामती सेवामा प्रवेश गरेका सुदिपको पहिलो पदस्थापन स्वास्थ्य मन्त्रालय अन्तर्गत लेखापालका रूपमा भयो । त्यसपछि उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पञ्जीकरण विभागमा रहेर काम गरे । दिनभरि सरकारी कार्यालयको जिम्मेवारी सम्हाल्दै उनले बिहानको समयमा बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना भई वाणिज्य शास्त्रमा स्नातकको अध्ययन पूरा गरे । २३ वर्षमा लेखा अधिकृतका रुपमा शाखा अधिकृतमा प्रवेश बीबीएसको अध्ययन सकिएको ६ देखि ७ महिनाभित्रै सुदिपले लोक सेवा आयोगको अधिकृतस्तरको परीक्षा दिए । दाजुको अनुभव, आफ्नो अद्भूत मेहनत र नियमित अध्ययनका कारण मात्र २३ वर्षको उमेरमा उनी पहिलो प्रयासमै खुला प्रतिस्पर्धाबाट नेपाल सरकारको शाखा अधिकृत (लेखा अधिकृत) पदमा सिफारिस भए । अधिकृत भएपछि सुदिपले आफ्नो गृहजिल्लाको भेरी नगरपालिकामा ६ महिना सेवा गरे । त्यसपछि २०७५ सालको कर्मचारी समायोजनका क्रममा उनी बाँकेको कोहलपुर नगरपालिकामा खटिए, जहाँ उनले साढे तीन वर्ष लेखा अधिकृतको रूपमा नगरको वित्तीय व्यवस्थापन सम्हाले । ठाकुरबाबा नगरपालिकामा उत्कृष्ट वित्तीय सुशासन र बेरुजु शून्यको कीर्तिमान कोहलपुरपछि सुदिपको सरुवा बर्दियाको ठाकुरबाबा नगरपालिकामा भयो । त्यहाँ कार्यरत रहँदा उनले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिसँग मिलेर वित्तीय अनुशासन र संस्थागत विकासमा ऐतिहासिक काम गरे । उनको नेतृत्वमा ठाकुरबाबा नगरपालिकाले आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षणलाई पारदर्शी बनायो । वर्षौँदेखि बाँकी रहेको बेरुजु फछ्र्यौट गरी नगरपालिकालाई ‘शून्य बेरुजु’ को स्थितिमा पुर्याउन मुख्य भूमिका निर्वाह गर्यो । वित्तीय सुशासनका सूचकमा ठाकुरबाबा नगरपालिकालाई देशकै सर्वोत्कृष्ट स्थानीय तहमध्ये एक बनाउन सफल भयो । ३१ वर्षमा उपसचिवमा नाम निकाल्न सफल स्थानीय तहमा काम गर्दा अत्यधिक कार्यबोझ, सार्वजनिक सेवा प्रवाहको चाप र अध्ययनका लागि शान्त वातावरणको अभाव हुनु सामान्य जस्तै हो । तर, सुदिपले आफ्नो लक्ष्यलाई कहिल्यै बिर्सिएनन् । दाजु सुरेश र कार्यालयका अग्रज सहकर्मीको निरन्तर हौसलाले उनले उपसचिवको तयारी जारी राखे । अन्ततः मात्र ३१ वर्षको उमेरमा सुदिपसिंह सुनार लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट नेपाल सरकारको उपसचिव पदमा ११ औँ नम्बरमा सिफारिस हुन सफल भए । हाल उनी दैलेखको आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटिएर स्थानीय सरकारको नेतृत्व गरिरहेका छन् । आमा–बुवाको त्याग र पारिवारिक संस्कार सुरेश र सुदिपसिंह सुनारको यो अद्भूत र लोभलाग्दो प्रशासनिक यात्रा पछाडि केही यस्ता महत्त्वपूर्ण स्तम्भ छन्, जसले हरेक लोक सेवा परीक्षार्थी र युवाका लागि मार्गनिर्देशनको काम गर्छन् । यदि उनीहरूका आमा–बुवाले अभावका बीच पनि छोराको शिक्षालाई पहिलो प्राथमिकता नदिएको भए यो उचाइ सम्भव थिएन । निरक्षर भएर पनि शिक्षाको प्रकाश बुझ्ने आमा र श्रम गरेर छोरालाई काठमाडौँ–सुर्खेतसम्म पठाउने बुवाको त्याग नै उनीहरूको सफलताको मुख्य इन्जिन हो । दाजु–भाइको अनुकरणीय सम्बन्ध र सहकार्य सुरेश र सुदिपबीचको सम्बन्ध दाजु र भाइको मात्र रहेन । सुरेशले भाइका लागि पिता, गुरु र परामर्शदाताको भूमिका निर्वाह गरे । आफूले बाटो खन्ने र भाइलाई त्यही बाटोमा सुरक्षित रूपमा हिँडाउन मार्गदर्शन गर्ने सुरेशको योगदानलाई सुदिप सधैँ श्रद्धाका साथ स्मरण गर्छन् । अर्कोतर्फ, भाइ सुदिपले पनि दाजुको विश्वास र समर्पणलाई कहिल्यै मर्न दिएनन् । तल्लो तहदेखिको व्यावहारिक अनुभव दुवै दाजुभाइ सिधै माथिल्लो पदमा पुगेका होइनन् । सुरेशले मुखियाबाट सुरु गरेर नासु, अधिकृत हुँदै उपसचिवसम्मको यात्रा तय गरे भने सुदिपले १८ वर्षमा नासुबाट प्रवेश गरी अधिकृत हुँदै उपसचिव बने । तल्लो तहमा काम गर्दा हासिल भएको व्यावहारिक ज्ञान, कार्यालय सञ्चालनको अनुभव र नागरिकका समस्यासँगको प्रत्यक्ष साक्षात्कारले उनीहरूलाई परिपक्व र सफल प्रशासक बनायो । सामाजिक विभेद र सङ्कुचित सोचमाथि विजय दलित समुदायमा जन्मिएका कारण समाजका कतिपय परम्परागत विभेद र दृष्टिकोण उनीहरूका लागि चुनौतीका रूपमा आएका थिए । तर, उनीहरूले विभेदलाई रोएर वा गुनासो गरेर होइन, क्षमता, योग्यता र सफलता मार्फत जवाफ दिए । लोक सेवा आयोग जस्तो निष्पक्ष र योग्यता प्रणालीमा आधारित संस्थामा खुला प्रतिस्पर्धाबाट नाम निकालेर उनीहरूले सिद्ध गरिदिए कि अवसर पाउँदा सीमान्तकृत वर्गका युवा जोकसैलाई पछाडि पार्न सक्छन् । नेपालको निजामती प्रशासन र दलित समुदायका लागि सन्देश सुरेश सुनार र सुदिपसिंह सुनारको यो सफलता दुई व्यक्ति वा एउटा परिवारको खुसीमा मात्र सीमित छैन । यसले समग्र नेपाली समाज र निजामती प्रशासनमा दूरगामी प्रभाव पार्छ । जसमा राज्यका संयन्त्रमध्ये लोक सेवा आयोग योग्यता प्रणालीमा कति दृढ छ भन्ने कुरा यी दुई दाजुभाइको सफलताले पुनः पुष्टि गर्छ । कुनै भनसुन, पहुँच वा भित्री सम्बन्धबिना केवल मेहनतका भरमा दुर्गमका दलित युवा उपसचिव बन्न सक्छन् भन्ने यसले देखाउँछ । यस्तै कर्णाली, सुदूरपश्चिम र देशका अन्य दुर्गम क्षेत्रमा अभाव र गरिबीमा हुर्कँदै गरेका लाखौँ युवाका लागि उनीहरूको कथा एउटा जीवित प्रेरणाको स्रोत हो । यस्तै राज्यको निर्णय प्रक्रिया र प्रशासनिक नेतृत्वमा दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व बढ्दा नागरिक केन्द्रित, संवेदनशील र समतामूलक सेवा प्रवाह सुनिश्चित हुन्छ । सुरेश र सुदिप जस्ता प्रशासकको उपस्थितिले सरकारी कार्यालयलाई अझ बढी जनमुखी र उत्तरदायी बनाउन मद्दत पुग्छ । जाजरकोटको भेरीका एउटा सामान्य किसान परिवारमा जन्मेर, अभाव, विकटता र सामाजिक विभेदका तगारोलाई नाघ्दै नेपाल सरकारको उपसचिव (राजपत्राङ्कित द्वितीय श्रेणी) सम्मको यात्रा तय गर्ने सुरेश सुनार र सुदिपसिंह सुनारको कथा नेपाली निजामती इतिहासको एउटा ऐतिहासिक अध्याय हो । जेठा भाइ सुरेश सुनार रोल्पाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सुरक्षा र सुशासनको नेतृत्व गरिरहेका छन् भने कान्छा भाइ सुदिपसिंह सुनार दैलेखको आठबिस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय विकास र वित्तीय अनुशासनको नयाँ मानक स्थापना गर्दैछन् । आमाको दूरदृष्टि, बुवाको श्रम, दाजुको कुशल मार्गदर्शन र भाइको अद्भूत मेहनतको संयोजनबाट रचिएको यो सफलताको गाथाले सधैँ एउटै सत्य साबित गर्छ, ‘लक्ष्य स्पष्ट छ, मेहनत इमानदार छ र संकल्प दृढ छ भने भूगोल, गरिबी र जातले मानिसको सफलतालाई कहिल्यै रोक्न सक्दैन ।’