माझी समुदायले किन मनाउँछन् ‘पितरा पर्व’?

  • आइबार​ २ कात्िक २०८३ ११:५७ AM
काभ्रेपलाञ्चोक। यहाँका माझी समुदायले परापूर्वकालदेखि दसैँको टीका तथा तिहारको भाइटीकाको भोलिपल्टदेखि तीन दिनसम्म ‘पितरा पर्व’ मनाउँदै आएका छन्।  प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट अर्थात् पापाङ्कुशा एकादशी र तिहारको भाइटीकाको भोलिपल्ट तृतीयाका दिन यो पर्व माझी समुदायले आफ्नै रीतिरिवाजअनुसार मनाउने गरेका हुन्। अन्य समुदायमा मानिसको मृत्यु भएपछि वार्षिक पुण्यतिथिमा श्राद्ध गर्ने चलन छ। तर, माझी समुदायमा भने मृतक आफन्तको नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नुनपर्ने परम्परा छ। अल्पसङ्ख्यक माझी समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई ‘पितरा पर्व’ भनिन्छ। मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार एक वर्षको अवधिमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्ष दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार पितरा पर्व मनाउने गरिएको छ। ‘यस परम्परालाई निरन्तरता दिन स्थानीय युवाले अग्रसरता लिँदै आएका छन्’, उनले भने। विशेषगरी आँपचौरमा माझी समुदायको बाक्लो बस्ती छ। समुदायका सदस्यहरू मिलेर बस्तीभरि वर्षमा जति जनाको निधन हुन्छ, उनीहरूको नाममा एकैसाथ सामूहिक रूपमा पितरा पर्व मनाउने गरिएको रामकृष्णले बताए। किंवदन्तीअनुसार कुनै समय महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदीको किनारमा पुगेका थिए। नदी पार गर्न नसकेपछि उनीहरूले किनारमा डुङ्गा चलाइरहेका एक माझीलाई नदी पार गराइदिन अनुरोध गरेका थिए। माझीले महादेव र पार्वतीलाई नदी पार गराइदिएपछि उनीहरू खुसी भएर ‘तिमीहरू मर्दा बाँच्नेले नाचगान गरेमा सिधै स्वर्ग पुग्नेछौ’ भनी वरदान दिएको किंवदन्ती छ। त्यसैबेलादेखि पितरा पर्व मनाउने परम्परा सुरु भएको सुन्दै आएको स्थानीय माझीहरू बताउँछन्। यस पर्वको आफ्नै विशिष्ट परम्परा छ। माझी समुदायको सांस्कृतिक पर्व भए पनि सबैले अनिवार्य रूपमा मनाउनुपर्दैन। वर्षभरिमा जुन परिवारका आफन्तको निधन भएको छ, त्यही घरबाट ‘पितरा’ निकालिन्छ। यदि कुनै वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नहुने स्थानीय राजकुमार माझीले बताए। उनका अनुसार पर्वको परम्पराबमोजिम तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ। विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मृत्यु भएकाको भने त्यही वर्ष वर्षभरिको काम सकिन्छ। नेवार समुदायको गाईजात्रा परम्परासँग केही समानता देखिए पनि पितरा पर्वको आफ्नै सांस्कृतिक रीतिरिवाज छ। स्थानीय ध्रुव माझीका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पूरा गरी पितृहरूलाई निमन्त्रणा गरिन्छ। पितृहरू विभिन्न सवारीसाधनमा चढेर आऊन् भन्ने विश्वासले घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायतका चित्र कोरिन्छन्। मृतात्मा तिनै सवारीसाधनमा चढेर आउँछन् भन्ने जनविश्वास छ। महिला मरेको भए महिलाले लगाउने र पुरुष मरेको भए पुरुषले लगाउने लुगाका आकृति पनि कोरिन्छन्। पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’ समेत गर्ने प्रचलन छ। पितरा निकालेको दिन बेलुकादेखि भोलिपल्ट उज्यालो नहुँदै कसैले नदेख्ने गरी ती आकृति मेटाइसक्नुपर्ने परम्परा छ। पितरा निकाल्ने दिन ‘मूल भोटे’ले विधिको सुरुआत गर्छन् भने अन्यले विभिन्न काममा सहयोग गर्छन्। यस कार्यका लागि माझी समुदायका दुई बालिकालाई पुरोहितका रूपमा पुजिन्छ। ती बालिकालाई अन्य समुदायका व्यक्तिले छुन नहुने र कसैले छोएमा उनीहरूको मृत्युसमेत हुन सक्ने धार्मिक मान्यता रहेको स्थानीय बताउँछन्। पर्वका क्रममा मूल भोटेले दुई ‘गुरुङ’को छनोट गर्छन्। उनीहरूकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने प्रचलन छ। यस क्रममा देशभक्ति झल्काउने तथा दुःखसुखका गीत गाइन्छन्। बाटो मर्मत र सरसफाइ गर्दै पुनः घर फर्किएपछि मृतकको इच्छा बुझ्न ‘बकाउने’ विधि गरिन्छ। स्थानीय माझीका अनुसार मृतकको परिवारले चाहेमा मात्र तन्त्रमन्त्रमार्फत आत्मालाई बोलाउने परम्परा छ। पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाचगान गरिन्छ। भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसार तीन दिनको पितरा पर्व समापन हुन्छ। पितरा पर्व मनाएपछि मृतक आफन्तको आत्मा फेरि फर्केर नआओस् र जीवित परिवारका सदस्यलाई कुनै किसिमको ‘विघ्नबाधा’ नआओस् भन्ने धार्मिक विश्वास छ। कुनै वर्ष गाउँमा पितरा निकाल्नुपर्ने अवस्था नआए पनि माझी समुदायले खुसीसाथ दसैँ मनाउने गरेको स्थानीयवासी बताउँछन्।