कोलकाता। भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार शनिबार राति वर्षा सुरु भएपछि मण्डप नजिकै भेला भएका मानिस ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो। प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित बनेको थियो। घटनामा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। अस्पताल पुगेका मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिए। उनले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने बताए। प्रहरीले घटनाको अनुसन्धान सुरु गर्दै केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिएको छ। घटनामा भीड व्यवस्थापन र सुरक्षामा कमजोरी भए–नभएको विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। दुर्गा पूजा पर्वका लागि कोलकाताभरि स्थानीय रूपमा 'पण्डाल' भनिने करिब तीन हजार पाँच सय मण्डप निर्माण गरिएका छन्। घटनापछि अधिकारीहरूले कोलकाताका अत्यधिक भीडभाड हुने स्थल अस्थायी रूपमा बन्द गर्न आयोजकहरूलाई सुझाव दिएका छन्। भारतमा ठूला धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना बारम्बार हुने गरेका छन्। यस्ता पर्वमा लाखौँ मानिस सीमित क्षेत्रमा भेला हुने गरे पनि पर्याप्त सुरक्षा र भीड व्यवस्थापनको अभाव रहने गरेको छ। सन् २०२५ जनवरीमा विश्वकै ठूलो धार्मिक जमघटका रूपमा चिनिने महाकुम्भ पर्वका क्रममा पवित्र नदीमा स्नान गर्न हजारौँ हिन्दू तीर्थयात्री एकैपटक अघि बढ्दा भएको भागदौडमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। त्यसैगरी, सन् २०१३ मा मध्य प्रदेश राज्यको एउटा मन्दिरमा धार्मिक पर्वका क्रममा पुल भत्किने डरले तीर्थयात्रीहरू आत्तिँदा भएको भागदौडमा कम्तीमा ११५ जनाको मृत्यु भएको थियो। केही मानिसको नदीमा डुबेर मृत्यु भएको थियो।