क्यानडासँग खेल्दै नेपाल, शीर्ष ६ मा स्थान बनाउने अवसर

  • शनिबार १ कात्िक २०८३ ०७:०० AM
काठमाडौँ। ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। नेपाल र क्यानडा दुवैका लागि यो खेल अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हो। क्यानडा शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा छ भने नेपाल लगातार तेस्रो जित निकाल्दै शीर्ष ६ मा स्थान सुरक्षित गर्ने योजनामा छ। नेपालले आजको खेल जितेमा एक खेल बाँकी छँदै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्नेछ। अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ। नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीको नतिजासहित २८ अङ्क जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ। जारी शृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको थियो। यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित निकाल्ने नेपालको योजना छ। क्यानडा भने पहिलो खेलको हारको बदला लिँदै शीर्ष ६ मा पर्ने सम्भावना जीवित राख्न चाहन्छ। उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले हराएको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २५६ रन बनाएको थियो। त्यसैले शनिबारको प्रतिस्पर्धामा नेपालले क्यानडाको ब्याटिङलाई रोक्नुका साथै आफ्नो ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ। नेपालले जारी शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ। क्यानडाविरुद्ध २३५ रन बनाएको नेपालले ओमानसँगको खेलमा २६३ रन जोडेको थियो। अहिलेसम्म शृङ्खलामा पहिले ब्याटिङ गर्ने टोलीले जित निकालेकाले टस र सुरुआती ब्याटिङले पनि खेलको नतिजामा प्रभाव पार्न सक्छ। नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपालले सन् २०२४ मा क्यानडासँग पराजय बेहोरेयता खेलेको पछिल्लो खेलमा जित निकालेको थियो। शनिबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ। नेपालले क्यानडालाई हराएमा शीर्ष ६ मा आफ्नो स्थान सुनिश्चित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्ध दबाब कम गर्न सक्नेछ। तर, पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्नेछ।