पाँच करोड लगानीमा बसन्तपुरमा बन्दैछ शीतभण्डार, स्थानीयलाई के फाइदा हुन्छ ?

  • बिहीबार २९ असो २०८३ १०:११ PM
तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिका–२, बसन्तपुर बजारमा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा शीतभण्डार भवन निर्माण सुरु भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।  शिलान्यास कार्यक्रममा प्रथम सचिव देवले नेपाल–भारत विकास सहकार्य अन्तर्गतका परियोजनाले स्थानीय समुदायको आवश्यकता सम्बोधन गर्दै विकासमा योगदान पुर्‍याउने बताए।  कृषि क्षेत्रको विकास र स्थानीय नागरिकको आर्थिक अवस्था सुधारमा यस्ता पूर्वाधार उपयोगी हुने उनको भनाइ थियो ।  नगर प्रमुख अर्जुन माबोहाङले शीतभण्डार निर्माण सम्पन्न भएपछि किसानलाई कृषि उपज सुरक्षित राख्न र बजारको माग अनुसार बिक्री गर्न सहज हुने बताए।  यस्तै, कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले भारत सरकारको सहयोगले जिल्लाको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।  आलु, फलफूल तथा बेमौसमी तरकारी उत्पादनका लागि उर्वर क्षेत्र मानिने लालीगुराँस नगरपालिकामा भण्डारण सुविधाको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन कठिनाइ भोग्दै आएका छन् ।  शीतभण्डार सञ्चालनमा आएपछि कृषि उपज सुरक्षित राखेर उपयुक्त समयमा बजारमा बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ । भारतीय राजदूतावासको ५ करोड २ लाख २१ हजार ५ सय ८९ रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको शीतभण्डारको जिम्मा मोरङको शसिधर निर्माण सेवा एण्ड कट्टेल सप्लायर्सले पाएको छ ।  निर्माण कम्पनीले आगामी १५ महिनाभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ । शीतभण्डार सञ्चालनमा आएपछि किसानको आम्दानी वृद्धि तथा स्थानीय कृषि व्यवसायको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।