काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । उनले ३७०० मतान्तरसहित सहमहामन्त्री जितेका हुन्। केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए । बझाङका स्नेही यसअघि विशेष महाधिवेशनमा पनि दलिततर्फ सहमहामन्त्री निर्वाचित भएका थिए। १४औँ महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य भएका थिए। ०७४ को प्रतिनिधिसभामा समानुपातिकतर्फ सदस्य निर्वाचित भएका उनले संसद्मा राम्रो भूमिका निभाएका कारण कार्यकर्तामाझ लोकप्रिय छन्।