सुर्खेत । जाजरकोटमा जिप दुर्घटना भएको छ । जुनिचाँदे गाउँपालिका २ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक जुनिचाँदे गाउँपालिका–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनिचाँदे गाउँपालिका–३ स्यालाका दिलबहादुर भण्डारीकी ३० वर्षीया श्रीमती बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, जुनिचाँदे गाउँपालिका–३ स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उनका ४ वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएको उनीहरुको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।