राइडरलाई सामाजिक सुरक्षा कोषमा जोड्दै ‘साझा सवारी’, ४० भन्दा बढी राइडर सहभागी

  • बुधबार २८ असो २०८३ ११:३७ AM
काठमाडौँ । सडकमा जोखिम मोलेर सेवा दिँदै आएका राइडरलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले साझा सवारी प्रालिले सामाजिक सुरक्षा कोषसँग सहकार्य अघि बढाएको छ । प्रोफेसनल राइडर्स युनियन नेपाल (प्रो राइडर)को सहयोग तथा समन्वयमा साझा सवारीले आफ्ना राइडरलाई प्रत्येक राइडको आधारमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरेको जनाएको छ । यसै अभियानअन्तर्गत सामाजिक सुरक्षा कोषको सभा हलमा साझा सवारी र प्रोफेसनल राइडर्स युनियन नेपालको संयुक्त आयोजनामा राइडरका लागि अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४० भन्दा बढी राइडर सहभागी भएका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका प्रतिनिधिले कोषमा आबद्ध भएपछि राइडरले प्राप्त गर्न सक्ने विभिन्न सामाजिक सुरक्षा सुविधाबारे जानकारी गराएका थिए । स्वास्थ्य उपचार, दुर्घटना तथा अशक्तता सुरक्षा, दुर्घटना बिमा र निवृत्तिभरणलगायतका सुविधाका विषयमा राइडरलाई जानकारी दिइएको थियो । साझा सवारीका प्रमुख अर्यालले राइडर कम्पनीको महत्त्वपूर्ण हिस्सा भएको बताए । उनले सडकमा काम गर्ने क्रममा राइडरले आफ्नो र परिवारको भविष्यबारे असुरक्षित महसुस गर्न नपरोस् भन्ने उद्देश्यले सामाजिक सुरक्षा कोषसँग जोड्ने प्रक्रिया अघि बढाइएको बताए । ‘हाम्रा राइडर केवल एउटा एप चलाउने चालक मात्र होइनन्, उनीहरू साझा सवारी परिवारका मेरुदण्ड हुन्,’ उनले भने, ‘सडकको जोखिममा उहाँहरूले आफ्नो र परिवारको भविष्यको चिन्ता लिनु नपरोस् भन्ने हाम्रो सपना थियो । आज सामाजिक सुरक्षा कोषमा दर्ता प्रक्रिया सुरु गरेर हामीले केवल एउटा नियम पालना गरेका छैनौँ, राइडरको सुरक्षाको जिम्मेवारी र अभिभावकत्व ग्रहण गरेका छौँ ।’ उनले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनमा राइडरको सामाजिक सुरक्षालाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी राइडरले पनि सामाजिक सुरक्षा कोषसँग जोडिन पाउने अवसरलाई सकारात्मक रूपमा लिएका छन् । एक सहभागी राइडरले यसअघि दैनिक आम्दानीमै केन्द्रित हुनुपरे पनि अब भविष्य, बुढेसकाल र उपचारका विषयमा समेत सुरक्षा हुने अपेक्षा बढेको बताए । ‘विगतमा हामीले केवल आजको कमाइको मात्र सोच्थ्यौँ, भोलि केही भइहाले के गर्ने भन्ने सधैँ डर हुन्थ्यो,’ उनले भने, ‘तर आज साझा सवारीले हाम्रो भोलिको भविष्य, बुढेसकालको सहारा र बिरामी पर्दाको उपचारको समेत ग्यारेन्टी गरिदिएको छ ।’ उनले राइडरलाई श्रमिकका रूपमा सम्मानजनक पहिचान दिलाउने प्रयासका रूपमा आफूले यो पहललाई लिएको बताए । प्रोफेसनल राइडर्स युनियन नेपालले पनि अन्य राइडरलाई सामाजिक सुरक्षाको दायरामा जोडिन आग्रह गरेको छ । युनियनका अनुसार सामाजिक सुरक्षा कोषसँग जोडिएका राइडरले प्राप्त गर्ने सुविधाबारे जानकारी अन्य राइडरसम्म पुर्‍याउनसमेत पहल गरिनेछ । साझा सवारी र प्रोफेसनल राइडर्स युनियनले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अवसरलाई राइडर तथा उनीहरूको परिवारको भविष्यसँग जोडिएको विषयका रूपमा अघि बढाउने जनाएको छ । कार्यक्रममा सहभागी राइडरलाई सामाजिक सुरक्षा योजनाबारे जानकारी दिएसँगै अन्य राइडरलाई समेत यस प्रक्रियामा सहभागी हुन प्रेरित गर्ने उद्देश्य राखिएको छ ।