छेपारे पहिरोको पीडा : 'न बच्यो सहारा, न रह्यो बास'

  • बुधबार २८ असो २०८३ १०:११ AM
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३, छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन्।  असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ। आमाको शवसमेत फेला नपरेपछि असोज २६ गते कुशको शव बनाएर दाहसंस्कार गरियो। अहिले दुवै दाजुभाइ आमाको किरियामा छन्। परिवारको सुखद भविष्यको सपना बोकेर दुई वर्ष छ महिना प्रयास गरेपछि दुई महिनाअघि मात्रै रोजगारीका लागि ग्रिस पुगेका कुमारीका श्रीमान् ओमबहादुर विकले पत्नीको अन्तिम अनुहारसमेत देख्न पाएनन्। दुई छोराले आमाको माया गुमाए। परिवारको सहारा बनेकी कुमारीको निधनले घरपरिवारलाई मात्रै होइन, सिङ्गो बस्तीलाई शोकमा डुबाएको छ। बेनीको कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पुजन र जीवनका लागि आमाको अभाव जीवनकै ठूलो पीडा बनेको छ। कलिलो उमेरमै आमाको काख गुमाएका उनीहरूको भविष्यमा परेको यो चोट शब्दमा व्यक्त गर्न कठिन छ। कुमारीका ससुरा जीतबहादुर र सासू जीतमायाले पहिरोले घरबाससँगै परिवारको सहारा पनि खोसेको बताए। 'बुहारीसँगै घर र दुईवटा गोठ पहिरोले बगायो,' आँसु झार्दै जीतबहादुर दम्पतीले भने, 'घर धानेकी बुहारी रहिनन्। वर्षौँको मिहिनेत र पसिनाले बनाएको घरगोठ पनि रहेन।' असोज ८ गतेदेखि परेको अविरल वर्षापछि छेपारे बस्तीमाथिको पाखोबाट पहिरो खस्न थालेको थियो। बेनीमा बस्दै आएकी कुमारी असोज १० गते साँझ छोराहरूसँग गाउँ पुगेकी थिइन्। भोलिपल्ट बिहान घरका सामान निकालेर सुरक्षित स्थानमा सार्ने क्रममा अचानक ठूलो पहिरो खस्यो। सामान जोगाउने प्रयासमा रहेकी कुमारी त्यही पहिरोमा पुरिइन्। 'सानो पहिरो खस्न थालेपछि अघिल्लो दिनदेखि नै सामान सारिरहेका थियौँ,' आफन्तसमेत रहेका छिमेकी जगबहादुर विकले भने, '१६ दिनसम्म भेटिन्छिन् कि भनेर दिनहुँजसो खोज्यौँ। नभेटिएपछि धार्मिक विधिअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्‍यौँ।' पहिरोबाट भागेर कुमारीका दुवै छोरा र सासू जीतमायाले ज्यान जोगाए। कुमारीकी छिमेकी मनमाया घर्तीको घरगोठ पनि पहिरोले नामनिसान नरहने गरी बगाएको छ। कुमारीकी दिदी मनिषा सुनारको घर आधा भत्किएको छ। घरमा बस्न सक्ने अवस्था छैन। 'घर नभए पनि पछि बनाउन सकिन्छ,' मनिषाले भनिन्, 'तर सहारा र साथ दिने बहिनी नै गुमाउनुपर्दा मन थाम्न सकेकी छैन।' श्रीमान् विदेशमा रहेकाले दुई भतिजको अभिभावकत्वसमेत आफैँले लिएर उनीहरूलाई पढाउने मनिषाको योजना छ। पहिरोका कारण जगबहादुर छन्त्याल र जीतबहादुर विकको परिवार पनि विस्थापित भएको छ। वडाध्यक्ष पदम पुनका अनुसार बस्तीमाथिको पाखोमा नयाँ पहिरो सिर्जना भएको छ। पहिरोबाट विस्थापित परिवारलाई हाल खाली घरमा राखिएको छ। उनीहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि राज्यको नीति र कार्यक्रमअनुसार सहजीकरण गरिने उनले बताए। पहिरोले घरगोठसँगै सडक, खेतीयोग्य जमिन, सुन्तला बगैँचा र खानेपानीका पाइपलाइनमा समेत क्षति पुर्‍याएको छ। स्थानीय बासिन्दा विनोद विश्वकर्माका अनुसार दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न नसके छेपारे बस्ती नै विस्थापित हुने जोखिम छ। 'सुन्तलाखेती विस्तार गरेर समृद्धितर्फ अघि बढिरहेको गाउँको यात्रामा पहिरो बाधक बनेको छ,' उनले भने, 'पहिरो नियन्त्रण र बस्ती संरक्षण गर्न नसके अहिले बसोबास गरिरहेका १०–१५ घरपरिवारले पनि गाउँ छाड्नुपर्ने अवस्था आउन सक्छ।' छेपारेमा पहिरोले भत्काएका घर फेरि बनाउन सकिएला, पुरिएको जमिन पनि कुनै दिन फर्किएला। तर आमाको काख गुमाएका पुजन र जीवनले गुमाएको माया र परिवारले गुमाएको सदस्यको रिक्तता कसरी पूर्ति होला